नेपाली जनता चीन-नेपाल रेल परियोजना साकार भएको हेर्न चाहन्छन् : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले चीन-नेपाल रेल परियोजना नेपालीहरूको साझा सपना भएको बताएका छन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै नेपाली जनताले चीन-नेपाल रेल परियोजना छिटोभन्दा छिटो निर्माण भएको देख्न चाहेको बताएका हुन् ।

उक्त परियोजना नेपालका लागि पारवहन र व्यापारिक विविधताका लागि महत्त्वपूर्ण हुने पनि प्रधानमन्त्री दाहालको भनाइ छ । ‘यस परियोजनाको मुख्य चिन्ता भनेको हामीले यसलाई कहिलेसम्म तयार गर्छौं भन्ने नै हो । तपाईंलाई थाहा हुनुपर्छ कि यस परियोजनाका लागि पर्याप्त स्रोत आवश्यक पर्छ जसलाई नेपाल एक्लैले वहन गर्न सक्दैन ।’

साथै प्रधानमन्त्री दाहालले यस परियोजनाका लागि ऋणको आकार र सर्तहरू नेपालले व्यवस्थापन गर्नसक्ने खालको हुनुपर्ने पनि बताएका छन् । उनले यस परियोजनाका लागि सम्भाव्यता अध्ययन भइरहेको र छिट्टै त्यसको रिपोर्ट आउने पनि बताएका छन् ।

प्रधानमन्त्री दाहालकै चीन भ्रमणका क्रममा मंगलबार बेइजिङबाट जारी संयुक्त वक्तव्यमा पनि सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिने उल्लेख छ । जिलोङ/केरुङ-काठमाडौं सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा भएको प्रगतिमा पनि दुवै मुलुक सन्तुष्ट रहेको जनाएका छन् । चीनले नेपाललाई रेल सञ्चालनका लागि चाहिने आवश्यक जनशक्तिलाई तालिम दिन तयार रहेको पनि वक्तव्यमा जनाइएको छ ।

प्रधानमन्त्री दाहालले चीन-नेपाल परियोजना आफ्नो कार्यकालमा सुरु हुन्छ वा हुँदैन भन्ने कुरा ठूलो नभएको पनि बताएका छन् । ‘चीन-नेपाल रेलमार्ग महत्त्वपूर्ण परियोजना हो । यो परियोजना मेरै कार्यकालमा सुरु हुन्छ वा हुँदैन भन्ने कुरा महत्त्वपूर्ण होइन, नेपाल र चीनलाई रेलले जोड्ने कुरा हामी सबैको साझा सपना हो,’ उनले अन्तर्वार्तामा भनेका छन् ।

Share your love