निस्कियो मधेश प्रदेशबाट माओबादी केन्द्र
मधेश प्रदेश सरकारबाट माओवादी(केन्द्र) बाहिरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले गठबन्धनमा भएको सहमतिअनुसार नचलेको भन्दै माओवादी(केन्द्र)ले मधेश प्रदेश सरकारबाट आफ्ना एक मन्त्री र एक राज्यमन्त्रीलाई मंगलबार फिर्ता बोलाएको हो ।
गत साता काठमाडौंमा गठबन्धन दलका शीर्ष नेता र मधेशका सत्तासीन दलका संसदीय दलका नेताहरुको उपस्थितिमा भएको छलफलमा मधेस प्रदेशमा आलोपालो मुख्यमन्त्री, सत्तासाझेदारी र सत्ता दलको भावनाअनुसार मन्त्री नियुक्त गर्नुपर्ने सहमति भएको थियो ।
मुख्यमन्त्री यादवले मंगलबार कांग्रेस, नेकपा (एस)का मन्त्रीलाई शपथ गराउने तयारी गरेपछि सत्ता गठबन्धनमा रहेका माओवादी, जनमत र लोसपा बिच्किएका छन् । यी तीनवटै दलको अहिले संयुक्त बैठक चलिरहेको छ ।
सरकारबाट बाहिरिने र मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिने विषयमा बैठकमा छलफल भइरहेको एक सांसदले बताए । माओवादी(केन्द्र) सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादव सकसमा परेका छन् । नवनियुक्त मन्त्रीहरूको शपथमा पनि यही कारणले ढिलाइ भइरहेको छ ।