निर्मला कुर्मी प्रकरण : ३ बुँदे सहमतिपछि धर्ना स्थगित

काठमाण्डौको माइतीघर मण्डलामा ४८ दिनदेखि धर्ना दिँदै आएका महिला अधिकारकर्मीहरूले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् ।

बाँकेकी निर्मला कुर्मीका लागि न्यायको माग गर्दै आन्दोलन गर्दै आएका उनीहरूले आज बुधवारदेखि आदोलन स्थगित गरेका हुन् । हिजो मङ्गलवार सरकारसँग तीन बुँदे सहमति भएपछि आजदेखि आन्दोलन स्थगित गरेको महिला अधिकारकर्मी रुबी खानले बताउनुभयो ।

सरकारसँगको सहमितमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित कसुरको अनुसन्धान गर्नका लागि विशेष अनुसन्धान टोली गठन गरी विस्तृत अनुसन्धान गरेर दोषीमाथि मुद्दा चलाउने सहमति भएको छ । निर्मला कुर्मीसम्बन्धी घटना अनुसन्धानका लागि सरकारले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा विशेष टोली बनाउने भएको छ ।

२०७५ माघदेखि बेपत्ता नेपालगञ्ज उपमहानगरपालिका १७ की निर्मलादेवी कुर्मीको अवस्था अझै थाहा हुन सकेको छैन । यसअघि गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मी नेतृत्वको छानबिन समितिले कुर्मीको नाममा रहेको साढे चार बिघा जग्गा हत्याउन उहाँलाई बेपत्ता बनाएको निष्कर्ष निकाल्दै तत्कालीन गृह मन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको थियो ।

 

Share your love