नागरिकता विधेयकलाई एक महिनामा मै निर्यणक तहमा पुर्याउने : प्रधानमन्त्री प्रचण्ड

बिहीबार प्रतिनिधिसभा बैठकमा जसपा सांसद दीपक कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयमा नै होल्डमा रहेको विधेयक प्रमाणीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभएको हो । यद्यपि जे गरे पनि एक महिनाभित्र नागरिकताको विधेयक टुंगो लगाउने उहाको प्रतिवद्धता छ।

गत वर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘होल्ड’ मा राख्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसमेत नागरिकता विधेयकको विषयमा के गर्ने भन्ने विषयमा अध्ययनमा रहेको बताउनुभयो ।

सरकारले उक्त विधेयकका विषयमा पूर्व महान्यायाधिवक्ता, वर्तमान महान्यायाधिवक्ता र संविधान तथा कानुनका विज्ञसँग छलफल गर्दा सबैजसोको मत राष्ट्रपति कार्यालयमा होल्ड भएकै विधेयक प्रमाणीकरण गर्न सुझाव आएको प्रधानमन्त्रीको भनाइ छ ।

उक्त छलफलबारे राष्ट्रपतिलाई जानकारी गराएको र उनी अध्ययनकै क्रममा रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ‘मैले राष्ट्रपतिलाई जानकारी गराउनुभयो । राष्ट्रपतिले पनि यो बारेम कानुनविद र संविधानविद्सँग छलफल गर्छु भन्नुभयो, सायद उहाँ अध्ययनका क्रममा हुुनुहुन्छ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो।

त्यही विधेयक प्रमाणीकरण गर्न संसदले संकल्प प्रस्तावमार्फत अनुरोध गर्ने वा मन्त्रिपरिषदबाट निर्णय गरेर प्रमाणीकरण गर्न अनुरोध गर्ने सम्भावना रहेको प्रधानमन्त्रीको भनाइ छ ।

‘नयाँ सदनबाट या त संकल्प प्रस्ताव मार्फत या अरु कुनै प्रस्तावमार्फत विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने बाटो, अर्को, क्याबिनेटबाट डिसिजन गरेर अनुरोध गर्ने बाटो’ प्रचण्डले भन्नुभयो ।प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयमा होल्ड भएको विधेयक शून्यमा गएको र त्यसलाई जीवित मान्न सकिँदैन भन्ने मत पनि रहेको बताउनुभयो । तर जे गर्ने भए पनि एक महिनाभित्र टुंगोमा पुग्ने उहाको जिकिर छ ।

Share your love