नागरिकताका लागी फेरी मधेस आन्दोलन हुन्छ: सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसीहरुले नागरिकता नपाए फेरी पनि मधेश आन्दोलन हुने चेतावनी दिएका छन्। वीरगञ्जमा शनिबार आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पहिचानको लागी आफ्नो पार्टीले सधैँ आवाज उठाएको र अबका दिनमा सडक देखी संसद् सम्म आन्दोलन हुने उनले बताए। डा. राउतले मधेसीहरुको माग पुरा गर्न आफ्ना कार्यकर्ता तथा नेताहरुलाई वडा वडामा गएर संगठन बनाइ तयारी गर्न जोड दिएका हुन्।

अहिले पनि नेपालमा मधेसी र पहाडीबिच विभेद खतम नभएको हुँदा कागजका टुक्राले मधेसीको पहिचान हुने गरेको उनले बताउँछन्।

आमा बुवाको नागरिकता हुने तर सन्तानको नागरिकता नपाउने देशमा संघियताको अधिकार कसका लागी आएको ? भन्दै उनले पश्न गरे।  ७ वटै प्रदेशमा सबै भन्दा पिछिडिएको प्रदेश मधेश प्रदेश नै रहेको उनको भनाइ थियो।

डा. राउतले आजको दिनमा सुस्ताएर बसे भोलीका दिनमा पाएको नागरिकता पनि खारेज हुने सबैमा अवगत गराए।

उनले मधेसीहरुलाई पनि अन्य सरह समान अधिकार दिलाउन आफ्नो पुर्वजहरुले नागरिकताको लागी विगतका दिनमा आन्दोलन गरेको बताए। अहिले पनि नागरिकता जस्तो आधारभूत मागलाई आजको दिन सम्म पुरा नगरिदिँदा अहिले मधेसका विभिन्न जिल्लाहरुमा आन्दोलन भइरहेको जानकारी गराए। मधेसीहरुको छरिएर रहेका सपनालाई साकार गर्न तथा मधेस आन्दोलनमा भनिएका मागलाई पुरा गराउनका लागी सबलाई एकजुट गर्ने उद्देश्यका साथ पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको उनले बताए।

उनले मधेसका जनताको पिडा सहन नसकेर आफू जागिर छोडेर जनताको सेवामा लागेको बताए । प्रहरीले मेरो आवाज दबाउन अनेकन प्रयास गरे तर म कहिल्यै हारिन,‘ उनले भने। उनले अहिले पनि मधेसीहरुको माग पुरा नभएको र पार्टी प्रवेशले राम्रो सुरुवात भएकाले आन्दोलनको आगाज यहि बाट गरेको उनको भनाइ थियो। जनमत पार्टी सधैँ जनताका लागी भएको हुँदा आवाज विहीनका लागी आफुहरुको पार्टी साथमा रहने बताए।

उनले २२ जिल्लाको मधेस समेटिएर ८ जिल्लामा हुनु अर्थात् हाम्रो मागहरु पुरा भएको छैन र आन्दोलन बाकी नै छन् । अबको आन्दोलनमा सरकारसँग आफुहरुको अधिकार खोसेर लिने र यसका लागी तयारी थाल्न सबैमा जानकारी गराए । नव प्रवेशीहरुलाइ उनले विगतका दिनमा कुन पार्टीले के गर्‍यो भन्ने कुरा सोचेर बस्नु भन्दा पनि अगाडीका दिनमा के गर्ने भन्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए। मानव भएपछि हरेक क्षण संघर्ष नै रहेको हुँदा यस्तो चुनौतिहरुबाट पछि नसर्न डा राउतको भनाइ थियो । डा. राउतका अनुसार सत्तामा बसेकाहरुले कसरी शासन गर्ने सोचिरहेका हुन्छन् भने शोषित व्यक्तिले पनि कसरी संघर्ष गरेर अगाडी बढ्ने सो कुरामा ध्यान दिएर आफूले पाएको अधिकारको कसरी रक्षा गर्ने सो कुरामा ध्यान दिनुपर्ने जानकारी गराए थिए।

जनमत पार्टीमा प्रवेश गर्नेहरूमा संघीय सरकारको पूर्व कृषि राज्य मन्त्री एवं संविधानसभा सदस्य करिमा बेगम , नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व प्रदेशसभा सदस्य प्रहलाद गिरि, लोसपाका केन्द्रीय सदस्य शशीकपुर मियाँ, नेकपा माओवादीका केन्द्रीय सदस्य सिपु तिवारी,लोसपाका नेता सुधिरनाथ पाण्डे, युवा नेताहरु मनोज यादव, विकास चौधरीसहित सयौँ नेता कार्यकर्ताहरु रहेका छन्।

कार्यक्रममा उनीहरूलाई जनमत पार्टीका अध्यक्ष डाक्टर राउतले फुलमाला लगाएर पार्टीको सदस्यता पत्र प्रदान गरी पार्टीमा स्वागत गरे। शनिबारको कार्यक्रममा पर्सा जिल्लाका १४ वटैपालिकाका सयौँ नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका पर्सा जिल्ला संयोजक ओमप्रकाश सर्राफले बताए।

Share your love