नवनिर्वाचित सांसदको शपथ अघि सर्वदलीय बैठक सुरु

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले शपथ लिनुअघि सर्वदलीय बैठक सुरु भएको छ । सङ्घीय संसद्को शंकर हलमा बैठक सुरु भएको हो । शपथ ग्रहण समारोहलाई व्यवस्थित बनाउन भन्दै ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले  सर्वदलीय बैठक बोलाउनु भएको हो ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउँदै हुनुहुन्छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सांसदले पद तथा गोपनीयताको शपथ लिनेछन्  ।

प्रतिनिधि सभामा प्रत्यक्षबाट निर्वाचित १ सय ६५ र समानुपातिकबाट निर्वाचित १ सय १० जना गरी कुल २ सय ७५ सदस्य रहेका छन् । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार कुल सदस्यमध्ये अहिलेसम्म मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या २६ जना रहेको छ ।

शपथसँगै सदस्यहरूको औपचारिक रूपमा कार्यकाल आजदेखि नै सुरु हुनेछ । शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो । हिजो ज्येष्ठ सदस्य जबराले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् शपथ लिनु भएको थियो ।

Share your love