नर्सलाई ८/१० हजार रुपैयाँमा काम लगाउनेलाई कारबाही हुन्छ : स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । न्यूनतम पारिश्रमिक पनि नदिइ नर्सहरूलाई काममा लगाउने कुरा मान्य नहुने बताउँदै उहाँले त्यस्ता स्वास्थ्य संस्थाहरूमाथि अनुगमन गरी तथ्य र प्रमाणको आधारमा कारबाही हुने चेतावनी दिनुभएकाे हाे ।

आज आइतवार काठमाण्डाैमा आयोजित नेपाल नर्सिङ सङ्घको ६१ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री गिरीले आफूले मासिक ८/१० हजार रुपैयाँमा निजी क्षेत्रमा नर्सहरूले काम गर्नुपर्ने कहालीलाग्दो अवस्था सुनेको भन्दै तथ्य र प्रमाण जुटाउनका लागि मन्त्रालयले निजी क्षेत्रका सबै अस्पताल र स्वास्थ्य संस्थाहरूमा तत्काल अनुगमन गर्ने घोषणासमेत गर्नुभयो । उहाँले नर्सहरूलाई ‘अनलाइन पेमेन्ट’ को व्यवस्था गर्न पनि निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नर्सहरूले मासिक ८ हजार, १० हजार रुपैयाँमा निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था भयावह र कहालीलाग्दो अवस्था हाे । म यहीँबाट भन्न चाहन्छु– न्यूनतम पारिश्रमिक पनि नदिइकन काममा लगाउने र श्रमको शोषण गर्ने कुरा कुनै पनि मूल्यमा ठिक हुन सक्दैन । त्यस्ता संस्थाहरूकाे मन्त्रालयबाट अनुगमन हुनेछ र आवश्यक कारबाही हुन्छ ।’

मन्त्री गिरीले कोराेनाकालमा नर्सहरूले आफूलाई जोखिममा राखेर स्वास्थ्य क्षेत्रमा पुर्‍याएकाे योगदानको प्रशंशा गर्दै उनीहरूलाई आवश्यक तलब, भत्तासहितको व्यवस्था मिलाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

 

Share your love