देशकाे अर्थतन्त्रले कृषि र उद्याेगमा लगानी वृद्धि खाेजेकाे छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्रले आन्तरिक उत्पादन, कृषि र उद्योगमा लगानी वृद्धि खोजेको बताउनुभएको छ । मङ्गलवार निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाले स्टार्टअप, साना उद्यम, कृषि उत्पादनमा कर्जा जोखिम देखेर लगानी गर्ने नगरेको बताउनुभयो ।
राष्ट्र बैंकले उत्पादन क्षेत्रमा लगानी जोखिमको सुरक्षण गर्ने नीति ल्याएको उहाँले बताउनुभयो । बैंक तथा वित्तीय संस्थाको आफ्नै किसिमको नीति भएकाले सरकारले वा अर्थतन्त्रले चाहेको ठाउँमा कर्जा दिन नसक्ने अवस्था आउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘बैंक तथा वित्तीय संस्थाले कतिपय अवस्थामा सरकारले वा अर्थतन्त्रले चाहेको ठाउँमा कर्जा दिन नसक्ने अवस्था हुन सक्छ । बैंकको आफ्नै खालको नीति हुन्छ । यसो हुँदा बैंकले आफूलाई सहज हुने ठाउँमा मात्रै लगानी गर्ने भए ।

अहिले वर्तमान अवस्थामा कसरी हुन्छ आन्तरिक उत्पादन बढाउने, कृषि उत्पादन बढाउने र उद्योगमा लगानी बढाएर औद्योगिक उत्पादन बढाउने, साना लघु उद्यमीलाई प्रोत्साहन गर्ने र स्टार्टअप नयाँ आइडियालाई उद्यममा परिणत गर्ने सोच राज्यको छ । तर बैंकले त्यस्ता क्षेत्रमा लगानी गर्न जोखिम देख्छ । कृषिमा लगानी गर्न जोखिम देख्छ ।’

गभर्नर अधिकारीले अर्थतन्त्रले अहिले आन्तरिक उत्पादन वृद्धि खोजिरहेकाले राष्ट्र बैंकले अर्थतन्त्रको आवश्यकताअनुसार कर्जा नीति बनाउँदै आएको बताउनुभयो । उहाँले राष्ट्र बैंकले अहिले बैंकको कुल कर्जा लगानीको १५ प्रतिशत साना लघु, घरेलु तथा साना उद्योग, कृषिमा र १० प्रतिशत जलविद्युतमा लगानी अनिवार्य गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष ४८ वर्ष पुग्दा पनि कुनै योजना नदेखिएको गुनासो गर्नुभयो । कोष ४८ वर्ष पुग्दा पनि योजनाविहीन देखिएको भन्दै नयाँ योजनाबाट अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । योजनामा ध्यान दिन र प्रिमियममा मात्रै केन्द्रित नहुन उहाँको सुझाव छ ।

गभर्नर अधिकारीले कोषको काम पैसा सङ्कलन गर्ने काममात्रै नभएको पनि बताउनुभयो । उहाँले कोषको इन्स्योरेन्सको डिपोजिट प्रभावकारी नभएको बताउनुभयो । राष्ट्र बैंकले आन्तरिक उत्पादन बढाउने विषयमा केन्द्रित भएर कर्जा योजनामा निर्देशन गरेको भन्दै कोषले पुलको काम गर्नुपर्ने उहाँको भनाइ छ ।

Share your love