थापाथलीको सुकुम्वासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन

काठमाण्डाैकाे थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउन माग गर्दै अभियन्ताले आज मङ्गलवार महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

उपत्यकावासी व्यवस्थापन तथा सहयोग सङ्घर्ष समितिले सुन्धारामा रहेको महानगरको कार्यालय अगाडि प्रदर्शन गर्दै सक्कली सुकुम्वासीकाे व्यवस्थापन गर्न र नक्कली सुकुम्वासीलाई तत्कालै नदी किनारबाट हटाउन माग गरेको हो । सुकुम्वासीकाे घर टहरा हटाइ, काठमाण्डौको सुन्दरता, सुशान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न एक इन्च पनि महानगर पछि हट्न नहुने उनीहरूको भनाइ छ ।

महानगरले बस्ती हटाउन खोज्दा सुकुम्वासीको नाममा हतियारसहित प्रदर्शन हुने गरेको र यसले गर्दा काठमाण्डौमा त्रास फैलिएको तथा वरपरका बासिन्दाले असुरक्षित महसुस गरेका सङ्घर्ष समितिले जनाएको छ । सुकुम्वासीकाे नाममा सरकारी जग्गा कब्जा गर्ने र राजधानीलाई अस्तव्यस्त बनाउने क्रियाकलापको अन्त्य गर्न महानगरलाई साथ दिन तयार रहेको समेत समितिले जनाएको छ ।

प्रदर्शनमा पुग्नुभएका महेशलाल बज्राचार्यले सुकुम्वासीका नाममा भइरहेको दादागिरी अन्त्य हुनुपर्ने र सुकुम्वासीको तथ्याङ्क सङ्कलन गरी सही सुकुम्वासीको व्यवस्थापनका साथै भूमिहीन सुकुम्वासीको उचित व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सुकुम्वासीको खोल ओढेर र राजनीतिक दलहरूको छत्रछायामा भइरहेका गतिविधिहरूको अन्त्य हुन जरुरी रहेको बताउनुभयो ।

त्यस्तै अर्का प्रदर्शनकारी पृथाविन्दु महर्जनले राजनीतिक दलहरूले नै नक्कली सुकुम्वासीलाई काखी च्यापेको आरोप लगाउनुभयो । उहाँले स्थानीय निकायले सही सुकुम्वासी पत्ता लगाइ उनीहरूको व्यवस्थापन गर्न लाग्दा राजनीतिक दलहरूले हस्तक्षेप गरिरहेको आरोप लगाउनुभयो ।

Share your love