थापाको प्रश्न : सहकारी ठग र त्यसका मतियार कानुनको दायरामा आउनु पर्दैन ?

 

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सहकारी ठगीमा संलग्न र त्यसका मतियारलाई कारबाही गर्नुपर्ने बताएका छन् । ‘सर्वसाधारणको निक्षेप ठग्ने र त्यसमा मतियार भएकाहरू कानुनी दायरामा आउनु पर्दैन ?’ भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै थापाले शक्तिशाली भएकै कारण वा राजनीतिक दलमा आबद्ध भएकै कारण कसैलाई पनि छुट मिल्न नहुने बताए । सांसदहरूले पनि दोहोरो चरित्र देखाउन नहुने उनको भनाइ छ ।

उनले आफ्नो दलकालाई एक किसिमको र अरुलाई फरक किसिमले व्यवहार गर्न नहुने बताए । ‘आम नागरिकहरूले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्धा चलाउँछ, ठगीको धन्धाको मतियार हुन्छ भने कानुनी दायरामा आउनु पर्दैन ? कानुनले कारबाही गर्नु पर्दैन ?,’ उनले प्रश्न गरे ।

सुशासनको मन्त्र भनेको कानुन र विधिको शासन भएको थापाको भनाइ थियो । दलमा आबद्ध होस् कि दल बाहिरको शक्तिशाली जोसुकै भए पनि कानुन विपरीत कार्य गर्नेलाई उन्मुक्ति हुन नहुने थापाले बताए । ‘एउटा नेपाली नागरिकले जे गर्दा दण्ड पाउँछ शक्तिशालीलाई पनि कानुन त्यसरी नै लागू हुनुपर्छ । जुनसुकै अर्थमा पनि नेपाल सरकारले यो बाटो समात्दै गयो भने बल्ल विश्वासको वातावरण बनाउन सक्छ,’ उनले भने ।
Share your love