त्रिदेशीय क्रिकेट शृङ्खलामा नामिबियाले नेपाललाई दियो २ सय ७५ रनको लक्ष्य

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नामिबियाले नेपाललाई २ सय ७५ रनको लक्ष्य दिएको छ ।

त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनायो । उसका जान ग्रिनले सर्वाधिक ७५ रन बनाए । पीकीं या फ्रान्स ४९ रनमा आउट भए । लोहार्ड लौरेन्सले ४१ तथा माईकल भानले २२ रन जोडे । नेपालका सन्दीप लामिछानेले ३ तथा करण केसीले १ विकेट लिए ।

नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ । हिजो भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले तथा पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ ।

नामिबिया ३२ खेलमा ३७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । स्कटल्याण्ड ३४ खेलमा ४८ अंकसहित शीर्ष स्थानमा छ । सात वटा देश सहभागि लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एकदिवसीय मान्यता जोगिनेछ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेेछ । नेपालले यो श्रृंखलाको आफ्नो अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।

Share your love