तराईमा होलि आज मनाईदै

आज तराई मधेसमा फागु अर्थात् होली पर्व मनाईदै छ । तराई मधेसमा होली मँगलबार परेको थियो तच अधिकाँस तराईबासिले मँगलबारका दिन मासु नखाने भएपछि होलि आज मनाउन लागिएको हो ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ । फागु पर्वमा एक आपसमा विभिन्न रङ्ग तथा अबिर लगाएर मनाउने चलन छ । केही वर्षदेखि रङको पर्व होली सभ्य बन्दै गएको छ ।

केही वर्षअघिसम्म एक हप्ता अघिदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर, चार पाँच वर्षयता फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको पाइन्छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व मनाइन्छ ।

यसैबिच जिल्ला प्रहरी कार्यालय पर्साले सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन सबैसँग अनुरोध गरेको छ । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न पनि आग्रह गरेको छ ।

कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहर पानी प्रयोग गरेमा कानुनबमोजिम कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ । यस्तै महँगा गरगहना लगाएर होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, जाँडरक्सी खाएर गाडी नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुर्व्यवहार नगर्न पनि प्रहरीले भनेको छ ।

रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भिडभाड हुने ठाउँमा होली नखेल्न, कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं १०० मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।

Share your love