ठाकुरराम क्याम्पसको स्ववियुका लागि ३५ संगठन/समुह चुनावी प्रतिस्पर्धामा

चैत ५ को स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचनका लागि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा ३५ वटा संगठन र समुहले दर्ता गराएका छन् । स्ववियु निर्वाचनका लागि संघ,संगठन र समुह दर्ताका लागि शुक्रबार बिहान १० देखि अपरान्ह ३ बजे सम्मको समय निर्धारण गरिएको थियो । उक्त समयवाधीमा ३५ वटा संघ,संगठन र समुहले दर्ता गराएको निर्वाचन अधिकृत रोशन लामिछानेले जानकारी गराए ।

उनका अनुसार , दर्ता गराइएका मध्ये राजनीतिक दलगत संघसंगठन ८ वटा रहेका छन् भन्दा स्वतन्त्र समुहरु २७ वटा रहेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले , नेकपा माओवादी केन्द्र , जनता समाजवादी पार्टी , नागरिक उन्मुक्ति पार्टी , राप्रपा , लोकतान्त्रिक समाजवादी पार्टी , जनमत पार्टी लगायतका राजनीतिक दलका विधार्थी संगठनका साथै स्वतन्त्र समुहका नाममा पनि समुहहरुले दर्ता गराएको लामिछानेले बताए ।

संगठन दर्ता गराउनेहरुमा नेपाल विधार्थी संघ (नेविसंघ) , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्र्थी युनियन (अनेरास्ववियु) , अनेरास्ववियु क्रान्तिकारी , समाजवादी विधार्थी युनियन , नागरिक विधार्थी समाज , जनमत विधार्थी संघ ,लोकतान्त्रिक विधार्थी संघ र प्रजातान्त्रिक विधार्थी संगठन रहेका छन् ।

यी मध्ये लोसपाको लोकतान्त्रिक विधार्थी संग , जनमत पार्टीको जनमत विधार्थी संघ र राप्रपाको प्रजातान्त्रिक विधार्थी संगठनले भने संयुक्त रुपमा परिवर्तनकारी विधार्थी संयुक्त प्यानलका नाममा संगठन दर्ता गराएको निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए ।

२१ सदस्यिय स्ववियुका लागि चैत ५ मा हुने निर्वाचनका लागि शुक्रबार देखि निर्वाचन प्रकृया शुरु भएको हो । सभापति , सचिव र कोषाध्यक्ष सहित ३ पदाधिकारी र ८ सदस्य गरि ११ पदका लागि प्रत्यक्ष निर्वाचन हुनेछ भने उपसभापति, सहसचिव र ८ सदस्य भने समानुपातिक निर्वाचन प्रणाली मार्फत चयन हुनेछ । नेपालमा पहिलो पटक मिश्रित निर्वाचन प्रणाली मार्फत स्ववियु निर्वाचन हुन लागेको हो । यसअघि स्ववियु निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत मात्रै हुदै आएको थियो ।

त्रिभुवन विश्वविधालय भन्दा पनि जेठो ठाकुरराम बहमुखी क्याम्पसको स्ववियु निर्वाचन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको पनि चासोमा रहने गरेको छ ।निर्वाचन अधिकृत लामिछानेका अनुसार , ठाकुरराम बहुमुखी क्याम्पसमा हुने स्ववियु निर्वाचनमा करिब ५ हजार मतदाता हुनेछन् ।

Share your love