ट्राफिक प्रहरीद्वारा मादक पदार्थ सेवन चेकजाँचबाट १४ करोड राजस्व संकलन

मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारबाही गरेर ट्राफिक प्रहरीले १४ करोड ५ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

विगत ५ वर्षमा काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरी ट्राफिक प्रहरीले १४ करोड ५ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५ देखि २०७९ सम्ममा १ लाख ४० हजार ५३१ जनालाई कारबाही गरी उक्त राजस्व अलुसी गरिएको हो । २०६९ मंसिर २२ देखि काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन जाँच सुरु गरिएको थियो । सवारी दुर्घटना बढ्न थालेपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापसे जाँच गर्न थालेको हो ।

उपत्यकामा मादक पदार्थ सेवन जाँच सुरु थालेको १० वर्ष हुँदा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या भने घटेको छैन । कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ हजार २५६ जना चालकलाई कारबाहीमा परेका थिए । यस्तै, प्रहरीले चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने ३८ हजार २६२ जनालाई कारबाही गरेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई ट्राफिक प्रहरीले एक हजार रुपैयाँ जरिवाना गर्ने गरेको छ ।

Share your love