टर्कीले इजरायलसँगकाे व्यापारमा राेक लगायाे

टर्कीले इजरायलसँगको सबै किसिमको व्यापारमा रोक लगाएको छ । गाजा क्षेत्रमा ‘बिग्रँदै गएको मानवीय सङ्कट’ का लागि इजरायललाई जिम्मेवार ठहराउँदै टर्कीले इजरायलसँगको सबै किसिमको व्यापारमा रोक लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

गाजा क्षेत्रमा विना कुनै अवरोध पर्याप्त मद्दत सुनिश्चित नभएसम्म यो निर्णय लागू रहने टर्कीको व्यापार मन्त्रालयले बताएको खबरमा उल्लेख छ । गएको वर्ष यी दुई देशबीच सात अर्ब अमेरिकी डलरको व्यापार भएको थियो ।

इजरायलका विदेशमन्त्रीले टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दाेआनले तानाशाहको जस्तो व्यवहार गरेको आरोप लगाउनुभएको छ । इजरायलका विदेशमन्त्री काट्जले टर्कीको यो कदम टर्कीका नागरिक, व्यापारी र अन्तर्राष्ट्रिय व्यापारिक सम्झौतालाई वेबास्ता गर्नु रहेको बताउनुभएको खबरमा उल्लेख छ ।

सन् १९४९ मा टर्की इजरायललाई मान्यता दिने पहिलो मुस्मिल बहुसङ्ख्यक देश थियो । तर पछिल्ला केही दशकयता यी दुई देशबीचको सम्बन्ध बिग्रँदो अवस्थामा रहेको छ ।

यसैबीच गाजा क्षेत्रमा इजरायली आक्रमणमा गरि ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार छ सयभन्दा धेरै पुगेको छ । गएको अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाभन्दा धेरैको ज्यान गएको थियो । त्यसको जवाफमा इजरायलले गाजा क्षेत्रमा आक्रमण गरिरहेको छ ।

Share your love