झा दम्पती हत्या प्रकरणः दुई वर्षपछि थप एक जना पक्राउ

महोत्तरीको पिपरामा झा दम्पतीको अपहरण गरी हत्या गरेको घटनामा दुई वर्षपछि थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–५ बस्ने ७२ वर्षीय तेजनारायण झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

उनी घटनापश्चात फरार भएर भारतको गुवाहाटी सहरमा पुजारीको काम गर्दै आएका थिए। बेलाबेलामा काँकडभिट्टा नाका हुँदै आउजाउ गरिरहेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

उनलाई शुक्रबार झापाको मेचीनगर नगरपालिका–६ स्थित नेपाल–भारत सीमाबाट पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष कुमार पोखरेलले जानकारी दिए।

पक्राउ परेका झाले हत्यामा मतियारको भूमिका निर्वाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। झा दम्पतीको क्रुर तरिकाले हत्या गरी शवहरू कैलाश झाले दबाउनको लागि आफ्नो घरको टिनको बाक्साभित्र राख्दा एवं जलाउने प्रयास गर्दा तेजनारायण सोही घरमा रहेका थिए। सम्पूर्ण घटनाबारे जानकारी हुँदाहुँदै शवलाई दबाउने कार्यमा मतियारको भूमिका निर्वाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। पक्राउ परेका तेजनारायणलाई आवश्यक कारबाहीको लागि महोत्तरी जिल्ला अदालत जलेश्वरमा पेश गरिने प्रवक्ता पोखरेलले बताए।

२०७७ साल फागुन १० गते राति महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी छुट्टाछुट्टै ओछ्यानबाट ओछ्यानसहित बेपता भएका थिए। बेपता भएको एक महिनापछि चैत १२ गते पिपरा–२ अतरार जाने बाटोमा झा दम्पतीको शव सडेगलेको अवस्थामा फेला परेको थियो।

मुसाफिर झाका छोरा मनिष झाले कैलाश झा, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भन्ने रजिन्द्र यादव र हरेन्द्र ठाकुर, तेज नारायण झा, तारादेवी झा, विकास भन्ने बब्लुकुमार झासमेतले अपहरण गरी शरीर बन्धक बनाइ हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए।

यसअघि प्रहरीले यस घटनामा सात जनालाई नियन्त्रणमा लिएकोमा तीन जना कारागारमा रहेका छन् भने चार जना धरौटीमा रिहा भएका थिए।

अहिले पिपरा–५ बस्ने तेजनारायण झाका छोरा ४० वर्षीय कैलाश झा, भारत बिहार राज्य जिल्ला मधुवनी, थाना मधवापुर तरैया ग्राम पञ्चायत वडा नं. २ अन्दौली गाउँ घर भइ हाल पिपरा–५ बनौली चोक बस्ने ४६ वर्षीय हरेन्द्र ठाकुर र ५२ वर्षीय रामबाबु यादव जिल्ला अदालत जलेश्वरको आदेशमा कारागारमा छन्।

यस्तै, पिपरा–५ बस्ने २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र भन्ने रजिन्द्र यादव उच्च अदालत जनकपुरको आदेशमा ५/५ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका थिए।

यस्तै, ६५ वर्षीया तारादेवी झा जिल्ला अदालतको आदेशले दुई लाख धरौटी राखेर तारेखमा छुटेकी थिइन् भने ३७ वर्षीय विकास भन्ने बब्लुकुमार झा उच्च अदालत जनकपुरको आदेशमा दुई लाख धरौटीमा छुटेका थिए।

Share your love