ज्वरोले शरीरमा कुनै गडबडी भइरहेको संकेत दिन्छ

ज्वरो आफैंमा रोग होइन, तर यो कुनै पनि रोगको लक्षण अवश्य हुनसक्छ । यस्तोमा प्रश्न उठ्छ,  ज्वरो किन आउँछ ?

सरल भाषामा बुझ्दा शरीरमा भाइरस वा ब्याक्टेरिया प्रवेश गर्दा शरीरले प्रतिक्रिया दिन्छ र शरीर तातो हुन्छ । त्यसलाई ज्वरो भनिन्छ । सामान्य ज्वरोबाट डराउनु पर्दैन, किनकि ज्वरो आउनु भनेको यसले रोग प्रतिरोधात्मक क्षमताले काम गरिरहेको र सक्रिय रहेको देखाएको बुझिन्छ । जसले बाह्य संक्रमणसँग जुध्न शरीर तयार छ भन्ने देखाउँछ ।

ज्वरोको कारण

ज्वरो शरीरमा कुनै गडबड हुन्छ । तब प्रतिक्रया स्वरुप ज्वरो आउँछ । मुख्यरुपमा ज्वरो आउनु तीन कारण छन् । पहिलो संक्रमण, इन्फ्लामेन्ट्री अर्थात् (दोस्रो प्रतिरोध क्षमता शरीरविरुद्ध काम गर्न थाल्नु) र, तेस्रो कारण भनेको न्युप्लास्टिक अर्थात् क्यान्सर ।

संक्रमणले कसरी गराउँछ ? सबैभन्दा पहिला बुझौं ।

यो ब्याक्टेरिया, भाइरस, फंगस, कुनै पनि प्रकारको बाह्य संक्रमणबाट संकेतको रुपमा ज्वरो आउन सक्छ । डेंगु, मलेरिया, कालाजार, स्वाइन फ्लु, कोरोना, इन्फ्लुएन्जा, क्षयरोग र अन्य कारण हुनसक्छ ।

भाइरसको संक्रमण हुँदा भाइरसको भार बढी शरीरमा पर्ने भएकाले ज्वरो आउँछ । शरीरमा भाइरस बढी भएमा शरीरले पनि बढी प्रतिक्रिया दिन्छ । जसरी डेंगु र कोरोनामा देखिन्छ । तर यदि ब्याक्टेरियाको कारण हो भने यसको भार शरीरमा कम छ । जस्तै, क्षयरोगीमा प्रायः ज्वरो आउँछ, तर उच्च हुँदैन ।

सुन्निनु

कुनै पनि संक्रमणबिना पनि ज्वरो आउँछ । जब शरीरका कोषिकाहरू शरीरविरुद्ध काम गर्न थाल्छन्, तब ज्वरो आउँछ । यसलाई स्वतः प्रतिरक्षा भनिन्छ । धेरै दौडिएमा, घाइते भएमा वा शारीरिक केही परिवर्तन भएमा ज्वरो आउँछ । यस्तोमा असर गरेको अंग सुन्निन थाल्छ ।

नियोप्लास्टिक ज्वरोको तेस्रो कारण  

ज्वरो रक्त क्यान्सरको प्रारम्भिक चरणको लक्षण हो । तर स्तन, फोक्सो, घाँटीको क्यान्सर लगायत ठोस ट्युमरमा सुरुमा ज्वरो आउँदैन । यी क्यान्सरमा किमोथेरापी गर्दा ज्वरो आउँछ ।

यीबाहेक कतिपय रोगीले एन्टिबायोटिक सेवन गर्दा, छालमा संक्रमण, छारेरोग तथा उच्च रक्तचापको औषधि सेवन गर्ने व्यक्ति, कतिपय बालबालिकामा नियमित खोप लगाउँदा र गर्भवती हुँदा पनि ज्वरो आउन सक्छ । ज्वरो जहिले पनि शरीरको तापक्रमको आधारमा मापन गरिन्छ ।

शरीरमा नियमित तापक्रम कति हुनुपर्छ ?

शरीरको सामान्य तापक्रम ९८ दशमलव ६ डिग्री फरेनहाइट हुनुपर्छ । यद्यपि, यो ९७ डिग्री फरेनहाइटदेखि ९९ डिग्री फरेनहाइटसम्म घटबढ हुनसक्छ । जुन सामान्य नै हो । यदि शरीरमा १००.४ डिग्री फरेनहाइट वा त्यो भन्दा बढी तापक्रम छ भने त्यसलाई ज्वरो मानिन्छ ।

कुनै पनि संक्रमण शरीरमा छिरेपछि शरीरको प्रतिरोधात्मक प्रणालीको विकास हुन्छ । त्यो विकास हुँदै गर्दा ब्याक्टेरिया भाइरस मार्नका लागि प्रतिरोधात्मक प्रणालीले दिमागमा रहेको तापक्रम सेट गर्ने ठाउँ (थर्मोस्ट्याट)लाई सक्रिय बनाउँछ । जब मस्तिष्कले थर्मोस्ट्याटलाई बढाइदिन्छ तब शरीरको तापक्रम बढाउनुपर्ने भएकाले जाडो हुन्छ । प्रतिरोधात्मक क्षमतामा गडबडी भएपछि जाडो महसुस हुन्छ ।

यदि १०३ डिग्री फरेनहाइटभन्दा माथि ज्वरो आएको छ भने त्यो चिन्ताको विषय हुनसक्छ । यसलाई उच्च ज्वरो मानिन्छ । शरीरले लड्न नसक्दा र कमजोर हुँदा उच्च ज्वरो आउँछ । बच्चाको हकमा भने १०० डिग्री फरेनहाइटको ज्वरो पनि जोखिम मानिन्छ ।

कम तापक्रम हुनु पनि समस्या

सामान्य तापक्रमभन्दा कम तापक्रम हुनु पनि समस्या हो । प्राय: हाइपोथर्मियाको समस्या हुँदा शरीरको तापक्रम सामान्य तापक्रम ९८.६ डिग्री फरेनहाइटभन्दा कम हुँदै जान्छ । हाइपोथर्मिया हुँदा तापक्रम ९५ डिग्री फरेनहाइटसम्म पुग्छ ।

अत्यधिक चिसोमा बस्ने र चिसो पानीमा काम गर्नेमा बढी यो समस्या हुन्छ । धेरै रक्सी पिउने, बाइक चलाउने, राति काम गर्ने र चिसोमा पातलो लुगा लगाएर काम गर्ने व्यक्तिलाई हाइपोथर्मिया हुने सम्भावना बढी हुन्छ ।

यस्तोमा चाँडो उपचार नभए शरीरको तापक्रम कम, मुटु, स्नायु प्रणाली र श्वासप्रश्वास प्रणालीमा असर गर्छ ।

लक्षण

-कमजोर महसुस गर्नु

-अचानक चिसो हुनु

-शरीरको तापक्रम बढ्नु

-चक्कर लाग्नु,

-अत्यधिक पसिना आउनु

-शरीर काँप्नु

-टाउको दुख्नु

शिशुमा ज्वरोको लक्षण

-खानेकुरा खान र तरल पदार्थ पिउन मन नगर्नु

-चर्को स्वरमा रुनु

-कानलाई चलाइराख्नु

-प्यास लाग्नु

-पिसाब कम हुनु

-झर्किनु र खेल्न मन नगर्नु

कुन अवस्थामा अस्पताल जाने ?

औषधि खाँदा ज्वरो घटेन भने अस्पताल जानुपर्ने हुन्छ । उच्च ज्वरो आउँदा घरमै राखिराख्यो भने अन्य जोखिम पनि आउन सक्छ ।

त्यस्तै बिरामीमा ज्वरोसँगै सास फेर्न कठिन भइरहेको छ । लगातार बान्ता, झाडापखाला आइरहेको छ, हिंडडुल गर्न सकिरहेको छैन, खान सकिरहेको छैन, रक्तचाप घटिरहेको छ भने तुरुन्तै अस्पताल जानुपर्छ ।

पहिचान

ज्वरोको परीक्षण तापक्रम मापनबाट गर्न सकिन्छ । त्यस्तै ज्वरोसँगै आउने लक्षणको आधारमा पहिचानको आधारमा रगत परीक्षण पनि गर्नुपर्ने हुनसक्छ ।

ज्वरो आउँदा के गर्ने ?

सामान्य ज्वरो आँउदा झोल पदार्थ धेरै पिउने,  बिरामी रहने कोठा न्यानो तर हावा सहज आवतजावत हुने हुनुपर्छ । ज्वरो १०१ फरेनहाइट भन्दा बढी नभएमा कुनै पनि औषधि सेवन गर्नुहुँदैन । त्यसभन्दा माथि भएमा अन्य औषधिको तुलनामा पारासिटामोलको साइड इफेक्ट कम हुने हुँदा सेवन गर्न मिल्छ ।

तर अन्य एन्टिबायोटिक औषधि भने सेवन गर्नुअघि परामर्श लिनुपर्छ । उच्च ज्वरोसँगै अन्य समस्या आएमा लक्षण र रोगअनुसार उपचार गरिन्छ । – अनलाईन खबरबाट

Share your love