जापानमा ८० वर्षमाथिका व्यक्तिको सङ्ख्या कुल जनसङ्ख्याको १० प्रतिशत, ९० लाखभन्दा बढी वृद्धवृद्धा काम गर्दै

जापानमा ८० वर्ष वा त्योभन्दा बढी उमेर काटेका व्यक्तिको सङ्ख्या कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा धेरै पुगेको छ । जापानले आज साेमवार मनाइरहेको ‘रेस्पेक्ट फर एज्ड डे’ का अवसरमा सार्वजनिक नयाँ तथ्याङ्कअनुसार हरेक १० जना मानिसमध्ये एक जना ८० वर्ष भन्दामाथिको उमेर समूहका रहेका देखाएको एएफपीले जनाएको छ ।

यस्तै जापानको ६५ वर्ष वा त्योभन्दा बढी उमेरको जनसङ्ख्याको हिस्सा बढेर २९ दशमलव १ प्रतिशत पुगेको छ । जापानमा विश्वमा सबैभन्दा बढी वृद्धवृद्धा रहेका त्यहाँको आन्तरिक मामिला मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । अस्थिर रोजगारी र आर्थिक कठिनाइका कारण युवाहरूले विवाह र बच्चा जन्माउन ढिलाइ गरिरहेका कारण दशकौँदेखि जापानको जनसङ्ख्या घट्दै गएको छ । पहिलेको जनशक्ति वृद्ध हुँदै गएकोले वृद्ध उमेरको जनसङ्ख्या बढेको हो ।

जापानमा ९० लाखभन्दा बढी वृद्धवृद्धाले काम गरिरहेका छन् । जुन श्रमशक्तिको १३ दशलमव ६ प्रतिशत वा सातमध्ये एक जना कामदार हुन् । जापानमा ७० देखि ७४ वर्ष उमेर समूहका एक तिहाइभन्दा बढी मानिसले रोजगारी पाएका छन् ।

सन् २०४० सम्ममा जापानको कुल जनसङ्ख्याको झन्डै ३५ प्रतिशत वृद्धवृद्धा रहने अनुमान गरिएको छ ।

 

Share your love