जनकपुरमा अपहरणपछि हत्या घटना : नेपालमा दुई तथा भारतीय प्रहरीद्वारा तीन जना पक्राउ

जनकपुर धामका दुई युवाको भारतमा अपहरण पछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुई युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेस पाशवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनुभएको हो ।

उहाँले नेपालबाट घटनामा संलग्न भएको आशंकामा २ जना नेपाली नागरिक र भारतीय प्रहरीले पनि घटनामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउनु भयो । १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षका रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो ।

मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गएको सोमवारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरवाट फोन आइरहेको र सुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराएपनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् ।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताउनु भयो । अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तहरुले प्रहरीमा खबर गरेका थिए ।

उहाँले भारततर्फबाट घटनामा संलग्न भएको आशंकामा ३ जना नियन्त्रणमा लिएको अझै केही फरार भएकाले खोजि कार्य जारी रहेको बताउनु भयो । भारतीय प्रहरीले पक्राउ गरेका व्यक्तिहरुको नाम भने सार्वजनिक गरी नसकेको उहाँले बताउनु भयो ।

 

Share your love