विद्यालय आउजाउ गर्न सहजताका लागि रामग्राम र प्रतापपुरमा उच्च शिक्षा अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिएको छ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले प्रदेश सरकारको सहयोगमा छात्राहरूलाई साइकल प्रदान गरेको हो । सदरमुकाम परासीस्थित पवन माध्यमिक विद्यालयमा अध्ययनरत १ सय १२ जना छात्रालाई निःशुल्क साइकल वितरण गरिएको हो ।

प्रदेश सरकारको छोरी पढाऊ छोरी बचाउ कार्यक्रम अन्तर्गत उच्च शिक्षा हासिल गर्नका लागि प्रोत्साहन स्वरूप साइकल प्रदान गरिएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताउनुभयो । तराई भेगमा छोरीलाई छिट्टै विवाह गर्ने र बीचमा नै अध्ययन छोड्ने प्रवृत्ति बढेपछि प्रोत्साहन स्वरूप यस्तो कार्यक्रम सञ्चालन गरिएको हो ।

यसैगरी, जिल्लाको प्रतापपुर गाउँपालिकाले पनि १ सय २० छात्रालाई साइकल उपलब्ध गराएको छ । गाउँपालिका भित्र कक्षा १२ पास गरेर स्नातक तह अध्ययन गरिरहेका छात्रालाई सार्वजनिकरुपमा निवेदन माग गरेर साइकल वितरण गरिएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।

जिल्लाका अन्य पालिकाले पनि यसअघि शैक्षिक स्तर सुधारका लागि भन्दै छात्रा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएका छन् । ग्रामीण भेगमा क्याम्पस जानका लागि सवारीको सुविधा नहुँदा समयमा नै क्याम्पस जान नसक्ने र बीचमा नै अध्ययन छाड्न बाध्य विपन्न वर्गका विद्यार्थीलाई साइकल उपलब्ध भएपछि सहज भएको छ ।

साइकल प्राप्त भएपछि छात्राहरू सहजै रुपमा समयमै विद्यालय पुगिने भन्दै खुसि देखिएका छन् । विशेषत तराईका जिल्लाहरूमा साइकल छोटो दुरीका लागि उपयोगी मानिन्छ ।