छठ पर्व नजिकिएसँगै माटोका भाँडाको माग बढ्यो

छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ ।

यहाँको उत्पादनसँगै केही भारतीय समेतले नेपाली बजारका छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ ।

सीमावर्ती बजारमा भारतीय माटाको भाडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाडाको कारोबार बढेको हो ।

सुनसरीको दुहबीसहित इनरुवा, इटहरी, लौकही, भोक्राहा, नरसिंह, भुटाहा, हरिनगराको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँ जसो माटाका भाँडा बिक्री हुँदै आएका छन् ।

सांस्कृतिक पर्वहरूमा प्रायजसो भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने कुमालेको व्यस्तता निकै बढेको छ । तराई क्षेत्रमा माटाका नयाँ भाँडा कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको यहाँका उद्यमी, व्यापारी र सर्वसाधारण बताउँछन् ।

विभिन्न स्थान र सीमावर्ती बजारमा छठका लागि माटोका दियो, चौमुखे दीप, पाला, माटोको हाती, ढकना लगायतका भाडाका भाँडाको बिक्री बढेको स्थानीय श्रीप्रसाद पण्डितले बताउनुभयो ।

पण्डितले पहिले पहिले त हाम्रो गुजाराको पेशा नै यही थियो, अब प्लास्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि चाडपर्वमा खुम्चिएको गुनासो गर्नुभयो ।

नेपाली बजारमा हिन्दु धर्मालम्बीहरुको दसैँ, तिहार, छठ लगायतका चाडपर्वहरूमा कलश, गमला, दियो, कोहा लगायतका माटोका भाँडा बढी बिक्री वितरण हुने गरेकोमा सबैभन्दा बढी तिहारमा माटोको दियो र छठमा विभिन्न कलात्मक भाडाहरू बिक्री हुने गरेको छ ।

यहाँका पण्डित कुम्भकार(कुमहार)हरुले यो समयलाई आफ्नो पर्वभरिको आम्दानी गर्ने सिजनका रुपमा समेत लिने गरेका छन् । नेपाली कुम्भकारहरु कम भएको र केहीले पेशा नै छाडेकाले नेपाली बजारमा माटोको भाडा समेत भारतीय बजारको भर पर्नुपरेको छ ।

अहिले छठका लागि माटोको भाँडोको एक सेट लिन एक सय रुपियाँ तिर्नुपर्छ । यसरी एक सय रुपियाँका दरले मात्रै माटोको भाडो छठमा किन्दा ६० हजार परिवारले छठ गर्दा ६० लाख रुपियाँको माटोको भाडो छठमा मात्रै बिक्री भइरहेको कुमाल समुदाय दुहबी १० सिमारियाका मनोज पण्डितले जानकारी दिनुभयो ।

उता केही नेपाली कुमालहरूले पुर्ख्यौली पेशा छाडेका कारण भारतीय उत्पादनले नेपाली बजार लिएको दाबी गर्छन् भने केही कुमालले माटोको भाडा विक्रीका लागि तिहार र छठ तथा चौरचन्द नै पख्रनुपर्ने भएकाले सङ्कटमा परेको बताउँछन्  ।

इनरुवासहित यहाँका अधिकांश पण्डित कुमालहरूले भाँडा बनाउने माटो र मेहनत अनुसारको आम्दानी नहुँदा नेपाली कुमाल आफ्नो पुर्ख्यौली पेसाबाट विमुख भएको बताउँछन् ।

पुस्तौँदेखि गर्दै आएको काम आधुनिकताले सङ्कटमा परेपछि नेपाली कुमाल अहिले जीविकोपार्जन गर्न अन्य पेशा गर्न थालेपछि भारतीय सीमावर्ती बजारका कुमालहरूले माटोका भाँडा नेपाली बजारमा बेच्ने गरेका छन् ।

Share your love