चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशन सुरु

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । राजधानी बेइजिङमा पार्टी महासचिव सी जिनपिङले महाधिवेशनको उद्घाटन गर्नुभएको बीबीसीले जनाएको छ ।

आउँदो पाँच वर्षका लागि पार्टीको नेतृत्व र राजनीतिक कार्यदिशा पारित गर्ने सीपीसीको महाधिवेशन हरेक पाँच वर्षमा आयोजना हुन्छ । झन्डै दुई हजार तीन सय जना पार्टी प्रतिनिधि सहभागी महाधिवेशनले तीन सय ७० जनाको केन्द्रीय समिति चयन गर्नेछ । जसमा २५ जना पोलिटब्युरो सदस्य र त्यसमध्ये सात जना स्थायी समिति सदस्य चुनिने छन् । पोलिटब्युरोलाई चीनको राष्ट्रपतीय मन्त्रिमण्डल सरह ठानिन्छ । सीलाई सम्मेलनमार्फत तेस्रो कार्यकालका लागि पार्टी प्रमुख बनाउने सम्भावना रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघिका सम्मेलनहरूमा नेताहरू आफ्नो पक्ष बलियो बनाउन प्रयास गर्ने गरेकोमा यस पटक कंग्रेसमा सीको एउटामात्र पक्ष देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  सम्मेलनको उद्घाटन समारोहमा राष्ट्रपति सीले विवादास्पद शून्य कोभिड रणनीतिको बचाउ गर्नुभएको छ । यस्तै उहाँले ताइवानमा बल प्रयोगको सम्भावनालाई अस्वीकार नगर्ने पनि बताउनुभएको बीबीसीले जनाएको छ । सीपीसी संसारकै सबैभन्दा धेरै सदस्य भएको पुरानो पार्टी हो ।

 

Share your love