चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा १ लाख पर्यटक, १० करोड राजस्व संकलन

चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् ।

निकुञ्जमा जङ्गल सफारीमार्फत १ लाख बढी आन्तरिक तथा वाह्य पर्यटकहरुले निकुञ्जको अवलोकन गरेका हुन् ।

विश्वको वन्यजन्तु जनजीवन अवलोकनका लागि प्रसिद्ध मानिने चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकहरुका लागि बढी रुचाइने क्षेत्र पनि हो ।

यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् । यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिश्रृप तथा उभयचर, बसार्इंसरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरू रहने गर्दछन् ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्‍ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटक निकुञ्ज अवलोकन भ्रमण गरेको बताउनुभयो ।

वरिष्‍ठ संरक्षण अधिकृत पुर्जा पुनले पछिल्लो पाँच महिनामा निकुञ्ज भित्रिएका १ लाख बढी पर्यटकबाट निकुञ्जले १० करोड भन्दा बढी राजस्व संकलन गरेको उल्लेख गर्नुभयो । उहाँले चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष ३ लाख बढी विदेशी तथा स्वदेशी पर्यटक आएको बताउनुभयो । वरिष्‍ठ संरक्षण अधिकृत पुर्जा पुनले गत वर्ष ३ लाख पर्यटकबाट ३० करोड रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिनुभयो । गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन वृद्धि हुने निकुञ्जको अपेक्षा छ ।

पुर्जा पुनले निकुञ्जमा प्रतिकिलोमिटरको क्षेत्रमा वन्यजन्तुहरु अवलोकन गर्नसक्ने अवस्था रहेको बताउनुभयो । उहाँले चितवन राष्ट्रिय निकुञ्ज गैँडा,बाघ, अन्य वन्यजन्तु र जङ्गल सफारीमार्फत अवलोकनको लागि आउने हात्ती कुन क्षेत्रमा छ भन्ने जानकारी लिने यन्त्र नै जडान गरेर निकुञ्जले काम गरिरहेको बताउनुभयो । उहाँले चितवन राष्ट्रिय निकुञ्जमा धुर्बे, रोनाल्डो, मकुना, यमगज र गोविन्दे लगायतका हात्तीहरु बाहिर देखिएको बताउनुभयो ।

Share your love