घुस माग्‍ने रास्वपा सांसदलाई कारबाही गरौँ : एमाले सांसद रावल

राष्ट्रियसभाका नेकपा (एमाले)की सांसद दिलकुमारी रावलले दुई करोड घुस प्रकरणको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानविन गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन्।

सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले घुस लिने र दिने दुवै राष्ट्रको शत्रु भएकाले घुस लिने काममा निलम्बित सांसद श्रेष्ठ मुछिएका हुन्/होइन? सत्यतथ्य छानविन गरी कारबाही गर्न सरकारसँग माग गरेकी हुन्।

आइतबार (हिजो) सांसद श्रेष्ठले मन्त्री बन्नका लागि २ करोड चाहिएको भन्दै व्यवसायी दुर्गा प्रसाईसँग पैसा मागेको अडियो विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएपछि त्यो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निलम्बिन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ।

सांसद रावलले त्यस्ता घटना सत्य हुन वा होइनन्? तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानविन गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘हामीले देखिरहेका छौं अहिले २ करोडको अडियो एकदमै भाइरल भईरहेको छ। यसमा सरकारको के छ? यो के हो? यसको तथ्यसत्य के हो ? हामीले भनिरहेका छौं–घुस लिने र दिने राज्यको शत्रु हुन। यो कारबाहीको दायरामा आउनुपर्छ भनिरहँदा यो घटना आईरहँदा यो पार्टी विशेषको भन्दा पनि, पार्टीले कारबाही गर्ने भन्दा पनि राज्य, सरकारले यसको तथ्यसत्य छानविन गरेर कारबाहीका दायरामा ल्याउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु।’

सांसद रावलले सरकारलाई संविधान र कानुनअनुसार अघि बढ्न पनि ध्यानाकर्षण गराइन्।

Share your love