गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना छैन : इजरायल

इजरायलले गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना नभएको जनाएको छ । संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्र सङ्घका लागि इजरायली राजदूत जिलाड अर्डनले अहिले आफूहरु आफ्नो नागरिकको सुरक्षाका लागि मात्रै लडिरहेको बताउनु भएको छ ।

यस्तै, उहाँले प्यालेस्टाइनी विद्रोही समूह हमासलाई समाप्त पार्नु आफूहरुको उद्देश्य रहेको बताउनु भएको सीएनएनले जनाएको छ ।

हमासलाई समाप्त पार्न जे गर्न पछि नपर्ने उहाँको भनाइ छ ।  हमास माथिको आक्रमण पछि गाजा क्षेत्रमा कसको शासन चल्छ भन्ने प्रश्नमा उहाँले युद्ध पछिको कुरा आफूले अहिले भन्न नसक्ने बताएका खबरमा उल्लेख छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रलाई कब्जामा लिए त्यो इजरायलका लागि गलत हुने प्रतिक्रिया दिनु भएको थियो । उहाँको यो अभिव्यक्ति पछि इजरायलको प्रतिक्रिया आएको हो ।

इजरायली आक्रमणले प्यालेस्टाइनको गाजा क्षेत्रमा मानवीय सङ्कट हुन थालेको छ । इन्धन अभावले उत्तरी गाजाका अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् । पछिल्लो ४८ घण्टामा उत्तरी गाजाका ११ लाखमध्ये ५ लाखभन्दा धेरै आफ्नो थातथलो छाडेर पलायन भएका छन् ।

Share your love