गाउँका युवकको मलेसियामा मृत्यु भएपछि मकवानपुरगढीको सिमलटारी शोकमा

बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका मकवानपुरगढी गाउँपालिका–५ का माधव ढुंगानाको बिदेशी भूमिमै मृत्यु भयो

घरको जेठो छोराको जिम्मेवारी बोकेर २५ वर्षको उमेरमै शैदेशिक रोजगारीमा गएका माधवको शव बाकसमा ल्याउँदा मकवानपुरगढीको सिमलटार गाउँ नै शोकमा डुबेको छ ।

‘हाम्रै अगाडि हुर्किएको भाइ आज बाकसमा आउँदा मन नै रोएको छ । गाउँमा पहिलो पटक यसरी बाकसमा शव आएको हो’, माधवका छिमेकी श्रीराम दाहालले भने ।

ढुंगानाको कोठामा सुतिरहेको अवस्थामा २१ माघमा मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ । परिवारका सदस्यलाई उनको मृत्यु हृदयघातबाट भएको जानकारी दिइएको छ ।

मृतक माधव ढुंगाना

‘रातिको कामबाट फर्केपछि खाना खाएर घरमा कुरा गर्दै सुतिरहेको थियो । सुतेकै अवस्थामा मुखबाट फिँज निकालेर वान्ता गर्न थालेपछि डाक्टर बोलाउँदा मृत घोषणा गरेको सुनिएको छ’, ढुंगानाको शव ल्याउन सहयोग गरेका स्थानीय सदीप घिमिरेले भने ।

मलेसियामा माधव काम गर्ने कम्पनीका नेपाली इञ्चार्जसँग सम्पर्क गरेर बुझ्दा हृदयघातबाट मृत्यु भएको जानकारी दिएको घिमिरेले बताए । माधव ८ महिनाअघि मात्रै मलेसिया पुगेका थिए । घरको आर्थिक अवस्था कमजोर भएका कारण माधवको काजकिरियाका लागि स्थानीयले सहयोग उठाएका छन् ।

मलेसियास्थित नेपाली दुतावास र वैदेशिक रोजगार बोर्डको सचिवालयको सहजीकरणमा माधवको शव ६ दिनपछि नेपाल ल्याइएको हो । ढुंगानाको परिवारमा बुवा, आमा, श्रीमती र भाइ छन् ।

माधव दुई वर्षका लागि मासिक १५०० सय रिंगेट तलबमा मलेसिया पुगेका थिए । कम्पनीले ओभरटाइमसमेत दिने गरेकाले मासिक २ हजार रिंगेट तलब उनले लिने गरेको परिवारलाई उधृत गर्दै स्थानीय चन्द्र बञ्जाराले जानकारी दिए ।

Share your love