गण्डकीका मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गरी प्रदेश सभा बैठक २३ गते दिउँसो ३ डाकिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
अधिकारीले वैशाख २४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उनले एक दिन अघि नै विश्वासको मत लिन लागेका हुन् । अधिकारी नेकपा एमाले २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत गरी ३१ जना सांसदको दाबी पेश गरेर मुख्यमन्त्री नियुक्त भएका थिए ।
सर्वोच्च अदालतले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट खारेज गरेको थियो ।
सर्वोच्चको फैसला गरेपछि यसमाथि विभिन्न कोणबाट बहस भइरहेका छन् । गण्डकीमा नेपाली कांग्रेसका २७ र राप्रपाका २ जना सांसद छन् । तर २ सांसद रहेको राप्रपा अझै अनिर्णित छ ।