गणतन्त्र र धर्मनिरपेक्षताको विषय अहिलेकै संविधानअनुसार टुंग्याउन सकिन्छः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रचलित संविधानबाटै देशमा गणतन्त्रबारे निर्णय लिन सकिने बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै शाहीले अहिलेकै संविधानबाट गणतन्त्र र धर्मनिरपेक्षताका विषयलाई टुंग्याउन सकिने बताएका हुन्।

नेपालको संविधानले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहीत सार्वभौमसत्ता प्रतिकूल हुने गरी संशोधन गर्न नसकिने व्यवस्था गरेको भन्दै उनले गणतन्त्रका विषय यही संविधान र संसदले टुंग्याउन सक्ने बताए।

संविधान बनाउने क्रममा संघीयता र धर्मनिरपेक्षता चाहिने कि नचाहिने भन्दै सांसदबाट संकलन गरिएको राय किन सार्वजनिक नगरिएको भन्दै प्रश्न गरेका उनले यही संसद र संविधानबाट गणतन्त्र र धर्मनिरपेक्षता चाहिन्छ या चाहिँदैन भन्ने टुंगो लगाउन सकिने बताए।

बैठकमा सांसद पन्तले प्रचण्ड नेतृत्वको सरकारले गणतन्त्र र धर्मलाई विवादमा ल्याउन खोजेको टिप्पणी गरेका थिए।

Share your love