गएको सय दिनमा अर्थतन्त्रमा सकारात्मक संकेत देखिएका छन्: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट विगतभन्दा नयाँ र गुणात्मक रूपमा ल्याउन लागिएको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२ औँ वार्षिक साधारण सभा एवं चेम्बर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट विगतको भन्दा भिन्न र गुणात्मक रूपमा ल्याउन लागिएको बताएका हुन्।

परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट देशको समृद्धि सम्भव नहुने कुरामा सरकार स्पष्ट भएको उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले भने, ‘नेपाल सरकार आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा छ। परम्परागत सोंच नीति, कार्यक्रम र बजेटबाट देशको समृद्धि सम्भव छैन भन्ने कुरामा सरकार स्पष्ट भएको छ। सरकारले यसपट विगतभन्दा भिन्न, विगत भन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य गरिरहेको छ ताकि जसबाट
देशको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस्। जनताको अपेक्षा सम्बोधनमा यसको प्रकृति पहिलाको भन्दा फरक होस्। नयाँ होस् भन्ने मैले सोचिराखेको छु।’

उनले आफूले सरकारको नेतृत्व गरेको सय दिनमा अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएको बताए।

प्रधानमन्त्री दाहालले भने, ‘अर्थतन्त्रका आधारभूत सूचकहरू प्रारम्भिक रूपमा सकारात्मक देखिएका छन्। गएको सय दिनमा कम्तीमा पनि अर्थतन्त्रमा केही
सकारात्मक संकेतहरू छन्। जसरी भन्ने गरिएको छ- अर्थतन्त्रमा संकट छ भनेर। त्यस्तो स्थिति देशको छैन।’

उनले सरकार र नीजि क्षेत्रले उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

Share your love