खुलामञ्चलाई ‘पार्किङ’ स्थल बनाउन लागिएको भन्दै महानगरपालिकाको कार्यालय अगाडि विरोध

खुलामञ्चलाई पार्किङ स्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अक्युपाई टुँडिखेल’ले विरोध गरेको छ ।  काठमाण्डौ महानगरपालिकाले खुलामञ्चमा तीन तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताहरूले आज सोमवार महानगरको निर्णयको विरोध गरेका हुन् ।

उनीहरूले महानगरपालिकाको केन्द्रीय कार्यालय बागदरबार अगाडि विरोध प्रदर्शन गरेका छन् । अभियन्ताहरूले टुँडिखेल (खुलामञ्च) को ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व मासिने गरी पार्किङ बनाउन नहुने बताएका छन् । स्थानीयवासी र संरक्षण अभियन्ताहरूले सोमवार विरोध जनाउँदै महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोललाई ज्ञापनपत्रसमेत बुझाएका छन् । टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनुपर्ने उनीहरूको माग छ । उनीहरूले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङको सोच नै गलत रहेको बताउँदै आएका छन् ।

विरोध कार्यक्रममा बोल्दै अक्युपाई टुँडिखेल अभियानका प्रवक्ता सञ्जय अधिकारीले सार्वजनिक जग्गालाई सबैले संरक्षण गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले नागरिकदेखि जनप्रतिनिधि सार्वजिनक जग्गा संरक्षणका लागि गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले महानगरपालिका सार्वजनिक जग्गाको संरक्षक भए पनि मालिक नभएको टिप्पणी गर्नुभयो ।

त्यस्तै अभियानका कार्यक्रममा सहभागी बन्नुभएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले काठमाण्डौजस्तो ऐतिहासिक र सांस्कृतिक ठाउँमा जथाभाबी संरचना बनाउन नमिल्ने बताउनुभयो । उहाँले टुँडिखेलजस्तो ऐतिहासिक ठाउँमा अन्डरग्राउन्ड पार्किङजस्ता कुनै पनि संरचना बनाउन दिन नहुने बताउनु भयो । पार्किङ चाहिएको भए भृकुटीमण्डपमा अन्डरग्राउन्ड पार्किङ बनाउन उहाँको सुझाव छ ।

ज्ञापनपत्र बुझ्दै काठमाण्डौ महानगरपालिकाकी उपमेयर डंगोलले जनचाहना विपरीत टुँडिखेलमा अन्डरग्राउन्ण्ड पार्किङ नबनाइने बताउनुभएको छ । उहाँले अन्डरग्राउन्ण्ड पार्किङ टुँडिखेलमा आवश्यकता हो वा होइन भन्नेबारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएरमात्रै काम अघि बढाइने बताउनुभयो ।

गएको कात्तिकमा काठमाण्डौ महानगरपालिकाको १० औँ कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेन्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने निर्णय गरेको थियो । अहिले महानगरपालिकाको त्यो निर्णय विवादित बनेको छ ।

Share your love