खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

जंगलमा घाँस काट्न गएकी महिलालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सिरहाबाट दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका २ मल्हनिया टोल बस्ने २० वर्षीय राजकुमार महतो कोईरी र सोही नगरपालिका –१ बस्ने २० वर्षीय नितेश कुमार रजक रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

मंगलबार करिब ३ बजे कर्जन्हा नगरपालिका–१० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी मिर्चैया २ मल्हनिया पिडारी टोल बस्ने २६ वर्षीया लक्ष्मिनिया देवी कापरको घाँटी तथा पेटमा खुकुरी प्रहार गरी हत्या गरिएको थियो।

लक्ष्मिनीया श्रीमान् वैदेशिक रोजगारको क्रममा कतारमा हुँदा लक्ष्मिनीया र पक्राउ परेका राजकुमार प्रेम सम्बन्धमा थिए। तीन बच्चाकी आमा रहेकी लक्ष्मिनीया ९ महिनादेखि राजकुमारसँग प्रेम सम्बन्धमा थिए।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभास बुढाथोकीका अनुसार महिलाको श्रीमान् आउने भएपछि दुई / तीन महिनादेखि दुबैजनाको सम्बन्धमा खटपट सुरु भएको थियो।

महिलाले श्रीमान् आउने भएपछि अब सम्बन्धमा नबस्ने भनेपछि दुबै जनाबीच विवाद सुरु हुँदा करिब डेढ महिनाअघि महिलाले केटाहरुलाई बोलाएर राजकुमारलाई कुटाएकी थिइन्।

कुटिएका राजकुमारको रिस बढ्दै जाँदा उनले हत्याको प्लान बनाउँदै गएका थिए। सोही क्रममा मंगलबार महिला घाँस काट्न जंगल गएको देखेर घरबाट साथीसँग खुकुरी लिएर जंगलमा गई महिलाको हत्या गरेको खुलेको प्रवक्ता बुढाथोकीले बताए।

महिलाको घाँटी तथा पेटमा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी फरार भएका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय मिर्चैया र मधेश प्रहरी कार्यालय, जनकपुरबाट खटेको तालिम प्राप्त कुकुरसहितको टोलीको सहयोगमा वारदातमा प्रयोग भएको खुकुरीसहित दुबै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Share your love