क्रान्ति र शान्तिको नेतृत्व गरेर विश्वमै इतिहास रचेँ, अब एक पटक समृद्धिको नेतृत्व गर्छु – प्रचण्ड

सोलुखुम्बु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले अब देशमा समृद्धिको नेतृत्व गर्ने दाबी गर्नुभएको छ ।सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकामा निर्मित भौतिक संरचनाहरूको आज सोमवार उद्घाटन गर्दै प्रचण्डले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम गरेकाले अब देशमा समृद्धिको नेतृत्व गर्ने बताउनुभएको हो । संविधान कार्यान्वयनकै चरणमा रहेकाले अब तल्लो तहलाई अझ अधिकार सम्पन्न बनाउन आवश्यक ऐन बनाउन बाँकी रहेको उहाँको भनाइ छ ।

गाउँपालिका केन्द्र मुक्लिमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले संविधानको रक्षामार्फत अब आर्थिक क्रान्तिमा लाग्ने बताउनुभयो । नेपालमा माओवादीकै कारणले परिवर्तन सम्भव भएको भन्दै औद्योगिकीकरणमार्फत समाजवादी दिशामा अगाडि बढ्ने उद्घोष गर्नुभयो । अबको अन्तिम लक्ष्य समाजवादी देश निर्माण रहेको भन्दै त्यहीअनुसार देशको अर्थतन्त्र चलयामान हुने दाबी अर्थमन्त्री शर्माको छ ।

प्रचण्डसँगको खटपटपछि पहिलो पटक एकै कार्यक्रममा देखिएका शर्माले आजको कार्यक्रममा भने प्रचण्डको खुलेर प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्डको नै नेतृत्वमा देशले आमूल परिवर्तन गर्न सम्भव भयो, अब प्रचण्डकै नेतृत्वमा देशको मुहार फेरिन्छ ।

कार्यक्रममा प्रचण्डले एकै साथ ५० शय्याको दुधकोशी सामुदायिक अस्पताल, बहुप्राविधिक शिक्षालय र गाउँपालिकाको भवन उद्घाटन गर्नुभयो । दुधकोसी सामुदायिक अस्पताल १५ करोड, बहुप्राविधिक शिक्षालय पाँच करोड र गाउँपालिकाको प्रशासनिक भवन पौने सात करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।

यसैबीच कार्यक्रममा पालिकालाई २५ रोपनी निःशुल्क जग्गा दिने स्थानीय समाजसेवी बलराम गुरुङलगायतलाई सम्मान गरिएको छ ।

Share your love