कोशी प्रदेश नामाकरण विवादपछि भएको घटनाको छानबिन गर्न समिति गठन गरिने

सरकारले कोशी प्रदेश नामकरण विवादपछि गएको ५ गते आइतबार भएको घटनाको छानबिन गर्न समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश नामकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेकोे र ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि आह्वान गरेको छ ।

गएको फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोशी राख्ने निर्णय भएको थियो । यसको विरोधमा चैत ५ गते विराटनगरमा प्रदर्शन भएको थियो । प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदमबहादुर लिम्बुको उपचारका क्रममा हिजो ज्यान गएको थियो ।

Share your love