कोरोना सङ्क्रमित भेटिएसँगै वीरगञ्ज-रक्सौल नाकामा उच्च सतर्कता

भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । नेपालको मूख्य प्रवेशद्वार वीरगञ्ज–रक्सौल नाकामा कोरोना परिक्षणलाई तिब्रता दिँदै सतर्कता बढाइएको हो ।

वीरगञ्ज नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट आउनेहरुको दैनिक परिक्षण भइरहेको छ । परिक्षणका क्रममा बिहिबार दुईजना भारतीय नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएको हेल्थ डेस्ककी प्रमुख डा. अनिषा महतोले बताइन् ।

डा. महतोकाअनुसार भारतको पश्चिम बङ्गालस्थित कलकत्ताबाट आएका पर्यटकहरुमध्ये दुईजनामा र्‍यापिड टेस्ट प्रविधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । सङ्क्रमण पुष्टि भएकाहरुमा कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण नदेखिएपनि पिसिआर परिक्षण गर्ने परामर्श दिएर उनीहरुलाई पुनः भारत नै फिर्ता पठाइएको डा. महतोले बताइन् ।

त्यस्तै भारतका विभिन्न ठूला शहरबाट रक्सौल आउने ट्रेनका यात्रुहरुलाई परिक्षणको दयारमा ल्याउने प्रयास भइरहेको उनले बताइन् । पछिल्लो पटक कलकत्ताबाट आएका पर्यटकमा सङ्क्रमण पुष्टि भएकोले त्यहाँबाट दैनिक रक्सौल स्टेसनसम्म आउने मिथिला एक्सप्रेसका यात्रुहरुको पनि परिक्षण प्राथमिकताका साथि भइरहेको छ ।

भारतमा दनाहुँ हजारौंको सङ्ख्यामा सङ्क्रमित भेटिन थालेपछि पछिल्लो समय तिन दिनभन्दा बढी भारतमा बसेर फर्किनेहरुको चेकजाँचमा पनि कडाई गरिएको डा. महतोको भनाई छ । हाल दैनिक रुपमा भारत–नेपाल आवतजावत गर्नेहरुलाई भने परीक्षणका लागि प्राथमिकतामा नराखिएको उनले बताइन् ।

बिहिबार दुईजना भारतीयमा सङ्क्रमण पुष्टि भएसँगै आफूहरु थप सतर्क भएको उनले बताइन् । ‘दुईजना कोभिड पुष्टि भएको मतलब नेपालमा कुनैपनि समय ओमिक्रोनको नयाँ भेरीएन्ट प्रवेश गर्न सक्छ । सङ्क्रमणलाई नेपाल प्रवेश गर्न नदिन हामी सतर्क छौँ । परिक्षणको दायरा पनि फराकिलो पार्ने प्रयास गरिरहेका छौँ,’ उनले यात्राडेलीसँग भनिन् ।

नेपालीहरुमा र्‍यापिड टेस्ट गर्दा सङ्क्रमण पुष्टि भए पिसीआर परिक्षणको स्वाब सङ्कलन गर्ने किटसमेत व्यवस्था गरिएको छ । स्वाब सङ्कलन गरेर थप परिक्षणको लागि नारायणी अस्पताल पठाइने र सङ्क्रमितलाई आइसोलेट गर्ने तयारी रहेको उनले जानकारी दिइन् ।

नेपालमा पनि कोरोना सङ्क्रमितहरुको सङ्ख्या उकालो लाग्दै छ । सून्यमा झरेको सङ्क्रमितको सङ्ख्या पछिल्लो समय दुईदेखि तिन अङ्कसम्म पुग्ने गरेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । सोमबार मात्रै १०४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।

Share your love