काम गर्ने बेलामा मन्त्रालयबाटै हट्नुपर्‍याे : निवर्तमान स्वास्थ्य मन्त्री

निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नुपरेको बताउनुभएको छ । ४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने आफूले मन्त्रालयबाट बिदा लिनुपरेको उहाँको गुनासो थियो ।

स्वास्थ्य पत्रकार मञ्चले मङ्गलवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै निवर्तमान मन्त्री गिरीले मन्त्रीको रूपमा आफूले बिताएकाे समय त्यस क्षेत्रको अध्ययनमा बिताएको पनि स्पष्ट पार्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्याहरू छन् भन्ने कुरा आफूले मन्त्री भएपछि मात्रै थाहा पाएको समेत बताउनुभयो ।

निवर्तमान मन्त्री गिरीले भन्नुभयो, ‘४२ दिन स्वास्थ्य मन्त्रीको रूपमा रहेर काम गर्ने अवसर प्राप्त भयो । यो ४२ दिनको अवधिमा मैले स्वास्थ्य क्षेत्रको अध्ययनमा धेरै घनिभूत ढङ्गले जुटे । अब स्वास्थ्य क्षेत्र बुझेर काम गर्ने बेला आएको थियो । त्यही बेला यहाँबाट बिदा लिनुपर्ने अवस्था बन्यो । स्वास्थ्य मन्त्री बन्नुअघि यस क्षेत्रमा यति धेरै विकराल समस्या छ भन्ने मलाई थाहा थिएन ।’

निवर्तमान मन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । त्यसका लागि बीमितलाई दिने रकम एक लाखबाट बढाएर पाँच लाख रुपैयाँ पुर्‍याउनुपर्ने उहाँको सुझाव थियो । निवर्तमान मन्त्री गिरीले स्वास्थ्य बीमा बढाउनका लागि आफूले अर्थ मन्त्रीसँग कुरा गरेको र त्यसलाई बढाएर लैजाने योजना आफूले तय गरेको उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य सामग्रीहरूको दुरुपयोग हुन नदिने, सबै पालिकामा आधारभूत अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरूको अभिलेखीकरण गर्ने, सबै प्रदेशमा विशिष्टीकृत खालको स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।

निवर्तमान मन्त्री गिरीले आफूले स्वास्थ्य क्षेत्रको सुधारमा योगदान पुर्‍याएका पत्रकारहरूलाई पनि सरकारले पुरस्कारसहित सम्मान गर्नुपर्ने कुरालाई अघि बढाउन पहल गरेको बताउनुभयो । त्यस अवसरमा उहाँले स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि आफूले सांसदको रूपमा सरकारको ध्यानाकर्षण गराउने भन्दै त्यसका लागि सुझाव दिन पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

 

Share your love