कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष चुनाव लागि अन्य दलसँग छलफल गर्ने

 नेपाली का‌ंग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको चुनावका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ । बिहीवार आज पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेको बताउनु भयो । उहाँले संसद् भित्रको व्यस्तताका कारण केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको बताउनु भयो । उहाँले राष्ट्रिय सभा उपाध्यक्षको चुनाव र राष्ट्रपतिको चुनावका बारेमा अरु राजनीतिक दलहरुसँग छलफलका क्रममा कांग्रेस रहेको बताउनु भयो ।

प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखमा राष्ट्रिय सहमति खोजेकाले त्यहीअनुसार वार्ताका लागि बोलाए कांग्रेस प्रधानमन्त्रीसँग वार्ता गर्न तयार रहेको पनि बताउनुभयो । उहाँले प्रधानमन्त्री सर्वदलीय बैठकमा समेत राष्ट्रिय सहमति खोजेकाले प्रधानमन्त्रीको प्रस्ताव र एजेण्डा बाहिरिएपछि कांग्रेस छलफलका लागि जाने बताउनु भयो ।

प्रमुख सचेतक लेखकले नेपाली कांग्रेस राष्ट्रपतिको चुनावका लागि आन्तरिक तयारीमा जुटिसकेको बताउनु भयो ।

 

अन्तिम अपडेट: माघ १९, २०७९

Share your love