कांग्रेसको माओवादीकरण नहोस्, एमालेकरण पनि नहोस् : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई रुपान्तरण गर्नुपर्ने बताएका छन् । तर माओवादीकरण रोक्नुपर्छ भन्दा एमालेकरण पनि हुन दिन नहुने उनको जोड छ ।

कांग्रेसको गोरखाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले आसन्न महासमिति बैठकबाट कुनै पनि दलसँग चुनावी गठबन्धन गर्दैन भनेर निर्णय गर्नुपर्ने बताए ।

यससँगै कांग्रेसलाई रुपानन्तरण गर्नुपर्ने भन्दै उनले भने, रुपान्तरण भनेको अहिले जस्तो कांग्रेस छ, यसलाई बदलेर नयाँ बनाउने ।’ नयाँ कांग्रेस २००७ सालको जस्तो क्रान्ति चेत भएको , ०१५ सालको वस्तो प्रगतिशली र ०४६ को जस्तो लोकप्रिय भएको जस्तो हुनुपर्ने उनले बताए ।

जनताले पनि कांग्रेस, कांग्रेसजस्तो होस् भन्ने चाहेको महामन्त्री थापाले बताए । ‘माओवादी करण नहोस्, यसलाई रोक्नुपर्छ’ उनले भने, ‘तर कांग्रेसको माओवादीकरण नहोस् भन्दै गर्दा प्रतिक्रियामा आएर कांग्रेसको एमालेकरण पनि नहोस्, कांग्रेसको राप्रपाकरण पनि नहोस् ।’

‘कांग्रेसलाई कहिले एमाले खेलाइदिने, कहिले माओवादीले खेलाइदिने, हुँदा हुँदा कहिले काँही त राप्रपाले पनि खेलाइदिने’ यसलाई सच्याउन जरुरी रहेको महामन्त्री थापाले बताए ।

Share your love