कपिलवस्तुका प्रदेश सभाका उम्मेदवारहरु भाेट माग्न व्यस्त

कपिलवस्तुमा मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनावी महोल निकै तातिरहेको छ ।

कपिलवस्तुको चोक चौराहमा पनि चुनावी सरगर्मी बढेको हाे । चुनावी माहोल बढ्दै गएपछि छरछिमेक, टोल, चिया पसल र मेला जताततै उम्मेदवारहरुकै चर्चा सुरु भएको छ । यस पटक कसले जित्ला भन्ने अड्कलबाजी समेत सुरु भइसकेको छ ।

विभिन्न पार्टीका ठूला-ठूला साउण्ड सिस्टमले आफ्नो उम्मेदवार र पार्टीका गीत घन्काउदै उम्मेदवारको पक्षमा भोट माग्न यति बेला उम्मेदवार नेता तथा कार्यकर्ता गाउँटोलमा व्यस्त भएका छन् । कपिलवस्तुको सबै निर्वाचन क्षेत्रमा विभिन्न राजनैतिक दलहरुले आफ्ना उम्मेदवारसँगै पार्टीको एजेण्डा र भिजन लिएर मतदाताको घर आगनमा पुगेका छन ।

आगामी चुनावका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा लोकतान्त्रिक वाम गठबन्धन बनेर चुनावी मैदानमा होमिएका छन । नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता प्रगतिशील पार्टी एक्ला एक्कै चुनावी मैदानमा उत्रिएका छन ।

कपिलवस्तु क्षेत्र नं १ को (१) प्रदेश सभा सदस्यमा गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार डोलकराम घिमिरे र एमालेका उम्मेदवार विष्णु पन्थी चुनावी मैदानमा उत्रिएका छन् । कपिलवस्तु क्षेत्र नं १ को (२) मा भने लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट कांग्रेसका सहजराम यादव, एमालेका मधुसुदन शरण चौधरी र समाजवादीका फजलुर रहमान खाँण चुनावी मैदानमा देखिएका छन ।

क्षेत्र नं २ को (१) मा प्रदेश सभा सदस्यमा गठबन्धनकातर्फबाट कांग्रेसका विक्रम सिंह थापा, एमालेका नवराज लामिछाने र स्वतन्त्र उम्मेदवार थानेश्वर अर्यालको प्रतिस्पर्धा रहेको छ । क्षेत्र नं २ को (२) मा गठबन्धनकातर्फबाट कांग्रेसका सुधाकर पाण्डे, एमालेका धर्मलालबहादुर श्रीवस्ताव र जनता समाजवादीका उम्मेदवार अब्दुल रसिद खाँको कडा प्रतिस्पर्धा हुने देखिएकाे छ ।

क्षेत्र नं ३ को (१) प्रदेश सभा सदस्यमा गठबन्धनकातर्फबाट उम्मेदवार माओवादीका एहसान अहमद खानलाई अघि सारिएको छ । त्यस्तै एमालेबाट एक कार्यकाल प्रदेश सदस्य भइ सक्नुभएका अर्जुन कुमार केसी र लेसपाका रवीदत्त मिश्राबीच कडा प्रतिस्पर्धा हुने मतदाता बताउँछन । क्षेत्र नं ३ को (२) मा प्रदेश सभा सदस्यमा गठबन्धनकातर्फबाट कांग्रेसका वीरेन्द्र कुमार कनोडिया, जनता प्रगतिशील पार्टीका मिर्जा राशिद वेग र राप्रपाबाट जानकी यादवबीच यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएकाे छ ।

Share your love