एसईई आजदेखि : ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदै

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसईई परीक्षा चैत २९ गतेसम्म चल्नेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरीका पाँच लाख १६ हजार ५ सय ७७ जनाले आवेदन फाराम भरेका छन् । आवेदन भरेकामध्ये चार लाख ८४ हजार २ सय २७ जना परीक्षामा सहभागी हुँदैछन् ।

परीक्षाका लागि देशभर दुई हजार ३६ र जापानमा एउटा गरी दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् ।

सबै परीक्षा केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याउनेलगायतका काम सकिएको छ । विद्यार्थीलाई कुनै डरत्रास नलिइ ढुक्क भएर परीक्षा दिन परीक्षा नियन्त्रक श्रेष्ठले आग्रह गर्नुभएको छ ।

 

Share your love