एमाले मधेस प्रदेशमा पदाधिकारी सर्वसम्मत, अध्यक्षमा मण्डल

नेकपा एमाले मधेस प्रदेशको अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच जना पदाधिकारी सर्वसम्मत चयन भएका छन् । मण्डल सिराहाका जिल्ला अध्यक्ष हुनुहुन्छ । उपाध्यक्षमा संविधानसभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट ) र मोहम्मद कैस (धनुषा) चयन हुनुभएको छ ।

अध्यक्षसहित पाँच जना पदाधिकारको नाममा सहमति जुटेको एमालेका मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिनुभयाे । निर्वाचन प्रक्रियाले उहाँहरूको नाम अनुमोदन गर्ने यादवकाे भनाइ छ ।

जनकपुरधाममा अस्ति बुधवारदेखि जारी एमालेको प्रथम अधिवेशनमा हिजो बिहीवार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारीपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत सहमतिमा पदाधिकारीहरू सर्वसम्मत चयन भएका हुन् ।

अहिले पदाधिकारीसहित सदस्यहरूमा मनोनयन दर्ता भइरहेको छ । सकेसम्म सदस्यसहित पदाधिकारी चयन गरेरै नयाँ नेतृत्वको घोषणा गर्ने एमालेको तयारी छ ।

 

Share your love