एमाले केन्द्रीय कमिटीमा आज समूहगत छलफल, त्यसपछि स्थायी कमिटी बैठक

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज प्रतिवेदनहरुमाथि समूहगत छलफल सुरु हुँदै छ ।

बिहीबारबाट सुरु केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तथा चार निकाय र दुई गैरभौगोलिकसहित नौ प्रदेश कमिटीले मिसन ग्रासरुट अभियान सम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

आज बिहान ८ बजेदेखि सरु हुने बैठकमा ती प्रतिवेदनहरुमाथि समूहगत छलफल सुरु हुने महासचिव शंकर पोखरेलले जानकारी दिए ।

प्रतिवेदनहरुमाथि बिहान ८ देखि १२ बजेसम्म आठ समूहमा छलफल गर्ने कार्यतालिका बनाइएको छ ।

समूहगत छलफल मिसन ग्रासरुट अभियानको निष्कर्षको आधारमा आगामी दिनमा कसरी कार्ययोजना बनाएर अघि बढ्ने भन्ने विषयमा केन्द्रित हुने महासचिव पोखरेलले जानकारी दिए ।

समूहगत छलफलपछि प्रदेश अध्यक्षहरुले सुझावहरु प्रस्तुत गर्ने छन् । त्यसका लागि हरेक अध्यक्षहरुलाई १० मिनेटको समय उपलब्ध गराइएको छ । ‘१० मिनेटको समयमा समूहगत छलफलबाट आएका कार्ययोजनाको प्रस्ताव प्रस्तुत गर्नुपर्ने छ,’ महासचिव पोखरेलले भने ।

त्यसपछि आजै स्थायी कमिटीको बैठक बस्ने छ । प्रदेश अध्यक्षहरुबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्नेछ ।

त्यो कार्ययोजनाको प्रस्ताव तयार पारिसकेपछि पुनः केन्द्रीय कमिटीको बैठक सुरु हुनेछ । केन्द्रीय समितिको बैठकबाट कार्ययोजनाको प्रस्ताव पारित गरिने छ ।

त्यसपछि समसामयिक प्रस्तावहरु पारित गरेर अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्ने छन् र यही वैशाख ३० गते केन्द्रीय समिति बैठक सम्पन्न गर्ने एमालेको कार्यतालिका छ ।-अनलाईन खबर

Share your love