एन्फा युथ लिग चार क्लबद्धारा बहिष्कार

एन्फा यू–१६ युथ लिग चार क्लबले बहिष्कार गरेका छन् ।

फिफाको आर्थिक सहयोग र एन्फाको आयोजनामा उमेर समूहका खेलाडीलाई एक्सपोजर दिने उद्धेश्यले यू–१६ लिगको सुरुआत गरिएको थियो । तर, दोस्रो चरणका खेल सम्पन्न नहुँदै ए डिभिजनका चार क्लबले लिग बहिष्कार गरेका हुन् ।

बढी उमेरका खेलाडी खेलाएको आरोपमा एनआरटीमाथि एन्फाले कारबाही गरेको थियो । एन्फाले एनआरटीको तीन अंक घटाउने र एमआरआई गर्दाको शुल्क र थप १० हजार जरिवाना गर्ने निर्णय गरेको थियो । निर्णयविरुद्ध क्लबहरुले एन्फामा अपिल गरेका थिए । माग सम्बोधनमा एन्फा नेतृत्व जिम्मेवार नभएको भन्दै चार क्लबले लिग बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

ए डिभिजनका एनआरटी, संकटा, फ्रेन्ड्स र मनाङले युथ लिग बहिष्कार गर्ने सहमती गरेका थिए । लिग सञ्चालनमा एन्फाले आफ्ना माग सम्बोधन नगरेको क्लबहरुको गुनासो छ । खेलाडीको एमआईआई खर्चिलो रहेकाले सरकारी दस्तावेज अनुसार उमेर मानेर खेलाडीलाई खेल्न दिनुपर्ने विषयमा क्लबले एन्फासँग छलफल गर्न खोजेका थिए । तर, एन्फाका पदाधिकारीले समय नदिएपछि रुष्ट क्लबले लिग बहिष्कारको निर्णय लिएका हुन् ।

शुक्रबारको सहमती अनुसार मनाङ शनिबार च्यासल मैदानमा उपस्थित भएन । शनिबार च्यासल मैदानमा मनाङ र मछिन्द्र खेल्ने तालिका रहेको थियो । एन्फा र क्लबको पछिल्लो विवादले युथ लिग अन्यौलमा परेको अवस्था छ ।

Share your love