एनसेलको नयाँ सीईओमा जाब्बोर कायुमोभ नियुक्त

एनसेल आजियाटा लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालकमा जाब्बोर कायुमोभ नियुक्त हुनुभएको छ ।

एनसेलको सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले जाब्बोरलाई सीईओ तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको हो । उहाँले आज बुधवार आफ्नो कार्यभार सम्हाल्नुभएको छ । यससँगै एनसेलका पूर्व सीईओ तथा प्रबन्ध सञ्चालक एन्डी चोङ्ले आजियाटा गु्रपको प्रधान कार्यालयमा आउँदो जुनदेखि ‘आजियाटा गु्रप चिफ कर्पोरेट अफिसर’का रूपमा कार्यभार सम्हाल्नु हुनेछ ।

जाब्बोरले यसअघि टेलिया (पहिले टेलियासोनेरा) र भिम्पेलकम (अहिले भीओन) जस्ता शीर्ष दूरसञ्चार संस्थाअन्तर्गत थुप्रै कम्पनीको सीईओ भएर काम गरिसक्नुभएको छ । उहाँसँग झन्डै २० वर्ष दूरसञ्चार उद्योगको उच्च व्यवस्थापनमा रही काम गरेको अनुभव छ । दूरसञ्चार क्षेत्रका धेरै कम्पनीमा आफ्नो उत्कृष्ट छाप छोड्न सफल जाब्बोर कुशल व्यावसायिक नेतृत्वका रूपमा चिनिनु हुन्छ । एनसेलमा आबद्ध हुनुअघि उहाँले डिजिसेल ट्रिनिडाड एन्ड टोबागोको सीईओको रूपमा काम गर्नुभएको थियो । साथै डिजिसेल जमैकामा अप्रिल २०२३ सम्म सीईओको रूपमा कार्यरत हुनु हुन्थ्यो । क्यारेबियन देशहरूमा कार्यरत रहँदा उहाँले डिजिटल सेवा प्रदायक बन्नका लागि व्यावसाय सञ्चालन परिर्वतनको नेतृत्व गर्नुभएको थियो ।

‘एनसेल टिममा सामेल हुन पाएकोमा म हर्षित छु । प्रभावशाली फुटप्रिन्ट र बलियो ब्रान्ड पोर्टफोलियो भएको एनसेलको प्रतिभावान् टिमसँग काम गर्न उत्सुक छु । टिमसँग काम गर्दै व्यावसायिक कार्यसम्पादनमा वृद्धि गर्नु र आजियाटा गु्रपको बृहत्तर भिजन एड्भान्सिङ एसियामा आधारित हुँदै नेपालको डिजिटल विकास र नेपालीको जीवनस्तर सुधारमा योगदान पु¥याउन ध्यान केन्द्रित गर्नेछ’, जाब्बोरले भन्नुभयो, ‘एक करोड ६० लाखभन्दा बढी ग्राहक र नेपालीको सेवा गर्न पाउँदा म गौरवान्वित छु ।’

दूरसञ्चार उद्योगको व्यापक ज्ञानका साथ जाब्बोरले सीईओको रूपमा रही सफल ट्र्याक रेकर्ड कायम गर्नुभएको छ । पिपल लिडरसिप, बिजनेस इम्प्रुभमेन्ट, डिजिटल स्ट्राटेजी, अर्गनाइजेसनल डिजाइन र प्रोसेसेस लगायत क्षेत्रमा गरेका उदाहरणीय कामका लागि उहाँ चिनिनु हुन्छ । उहाँले ताजिकिस्थानको खुजन्ड स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

नयाँ प्रविधि र ग्राहक केन्द्रित नवीन सेवा–सुविधामा जाब्बोरको चासो छ । डिजिटल इनोभेसन, उच्च ग्राहक सन्तुष्टि र व्यावसायिक सफलता हासिल गर्नका लागि सहयोगी वातावरण अत्यावश्यक रहने उहाँको विश्वास छ ।

 

Share your love