एक करोड रुपैयाँ बराबरको अवैध सामान बरामद

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले एक करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।गोप्य सूचनाका आधारमा हिजो बेलुका नवलपुरको कावासोती–१६ चालिस किलो जङ्गलबाट अवैधरूपमा भित्र्याउँदै गएको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार ना ३ ख ५१६८ नम्बरको ट्रकबाट १ करोड २६ हजार नौ सय ९० रुपैयाँ बराबरको अवैध सामग्री बरामद भएको हो ।

ट्रकमा लुकाएर ल्याइएको बिलविनाका लत्ताकपडा, चिनी तथा युरिया मल बरामद गरिएको उहाँले जानकारी दिनुभयो । बरामद गरिएका सामान र ट्रक चालकलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको पनि पाठकले जानकारी दिनुभयो।

Share your love