‘आयाेगले आचारसंहिता उल्लङ्घन गर्ने कसैलाई छोड्दैन’

बारा, चितवन र तनहुँमा वैशाख १० गते हुने उपचुनावका लागि भाेलि शुक्रवार (चैत २४ गते) देखि आचारसंहिता लागू हुने भएको छ । वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नम्बर १, चितवन २ र बारा २ मा हुने उपचुनावका लागि भाेलिदेखि आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको हो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार निर्वाचन आयोग र निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठक बसेर चैत २४ गतेदेखि सम्बन्धित सबै पक्षहरूमा लागू हुने गरी उपचुनाव प्रयोजनार्थ आचारसंहिता लागू हुने बताउनुभयो । उहाँले आचारसंहिता उल्लङ्घन भए उल्लङ्घन गर्नेलाई सजायको भागिदार गराउन आयोगले कुनै कसुर बाँकी नराख्नेमा सचेत गराउनुभयाे ।

उहाँले भन्नुभयो, ‘उपचुनावका लागि चैत २४ गतेदेखि आचारसंहिता लागू गर्ने गरी निर्णय भएकाे छ । कतिपय आचारसंहिताको विषयवस्तु सङ्घीय सरकार, प्रदेश सरकार, पालिकालगायत सबैलाई लागू हुन्छ । आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा विभिन्न निकायहरूलाई कडाइका साथ परिपालना गर्न निर्देशन गरेका छौँ । यदि कसैले उल्लङ्घन गर्छ भने ऊ सजायको भागिदार हुनेछ । कसैबाट पनि आचारसंहिता उल्लङ्घन हुनेछैन ।’

निर्वाचन आयुक्त भण्डारीले विगतका चुनावकाे अनुभव रहेकाले उपचुनावमा राम्रोसँग आचारसंहिता कार्यान्वयन गराउने पक्षमा आयोग रहेको स्पष्ट पार्नुभयो ।

 

Share your love