आफैलाइ भोट हाल्न नपाउने पर्साका उम्मेदवारहरु

फोटो : नयाँपत्रिकाबाट

वीरगन्ज, २५ असोज : पर्सामा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य गरी १२ पदका लागि १४४ जनाको उम्मेदवारी परेको छ। जिल्लामा चार वटा प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको छ । तर पपर्साका आधा दर्जन भन्दा उम्मेदवारहरुले आफैलाइ भोट हाल्न नपाउने भएका छन् ।

सत्तागठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले यसपटक आफैँलाई भोट हाल्न नपाउने भएका छन्। उनी क्षेत्र नम्बर ४ मा पर्ने जगरनाथपुर गाउँपालिका–२ जानकी टोलाका मतदाता हुन्। यसअघि उनी २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।

पर्सा क्षेत्र नम्बर १ को (ख) मै सत्तागठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका रामनारायण कुर्मी पनि आफैँलाई मत दिनबाट वञ्चित हुने भएका छन्। उनी क्षेत्र नम्बर १ (क)मा पर्ने वीरगन्ज महानगरपालिका–१४ पिपराका बासिन्दा हुन्।

यस्तै, सत्तागठबन्धनकै तर्फबाट पर्सा क्षेत्र नम्बर २ (क)मा उम्मेदवारी दिएका कांग्रेसकै उम्मेदवार श्याम पटेलले पनि आफैँलाई मत हाल्न पाउनेछैनन् । पटेलको घर क्षेत्र नम्बर २ (ख)मा पर्ने बहुदरमाई नगरपालिका–२ ध्यानसिंह पिपरामा छ । त्यस्तै, सत्तागठबन्धनकै तर्फबाट पर्सा क्षेत्र नम्बर ३ (क)मा उम्मेदवारी दिएका माओवादी केन्द्रका छोटेलाल यादवले पनि आफूलाई भोट हाल्न पाउँदैनन्। उनी क्षेत्र नम्बर ३ (ख)मा पर्ने बिन्दबासिनी गाउँपालिका–५ हासवाका मतदाता हुन्।

क्षेत्र नम्बर ३ (ख)मा उम्मेदवारी दिएका कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र एकीकृत समाजवादीका प्रहलाल गिरिले पनि आफूलाई भोट हाल्नेछैनन्। क्षेत्री क्षेत्र नम्बर ४ को जगरनाथपुर गाउँपालिका–६ का र गिरि वडा नम्बर ५ का स्थायी बासिन्दा हुन्।

सत्तागठबन्धनकै तर्फबाट क्षेत्र नम्बर ४ (ख)मा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी चाँदतारा कुमारी क्षेत्र नं १ (ख)मा पर्ने वीरगन्ज महानगरपालिका–४ की वासिन्दा हुन्। उनले पनि आफैँलाई मत दिन पाउनेछैनन् । साभार : नयाँपत्रिका ( पत्रकार तिवारी यादव)

Share your love