आदर्शनगरस्थित पाथिभरा ट्रान्सपोर्टमा प्रहरीकाे छापा, ट्रान्सपाेर्ट सिल

वडा प्रहरी कार्यालय विर्ताले वीरगंजकाे आदर्शनगरस्थित एक ट्रान्सपाेर्टकाे गाेदाममा छापामारी गरेकाे छ ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल नेतृत्वकाे विशेष प्रहरी टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं. १० आदर्शनगरस्थित राजेश मल्लिकले संचालन गरेको श्री पाथिभरा ट्रान्सपोर्टमा छापामारी गरि अवैध रुपमा भन्सार छली ल्याइएकाे कपडाको पोका सहितका अन्य सामग्रीहरु बरामद गरेकाे छ ।

माघ १ गते आइतबार राती १:०० बजे आदर्शनगरस्थित उक्त ट्रान्सपोर्टबाट अवैध रुपमा भन्सार छली गरि ल्याइएका सामानहरु लोड गरि लैजादै गरेका छन् भन्ने सुचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले उक्त ट्रान्सपोर्टको गोदाममा चेकजांच गरि हेर्दा विलविजकबिनाका कपडाको पोका तथा अन्य शंकास्पद सामग्रीहरु बरामद भएकाे वडा प्रहरी कार्यालय विर्ताले जनाएकाे छ ।

रु ३ लाख भन्दा बढीकाे विल नभएकाे सामग्रीहरु र शंकास्पद बिलबिजक भएका हार्डवेयर, लत्ताकपडा तथा चकलेटका सामानहरु फेला परेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक बिशाल मल्लले जानकारी दिए । हाल उक्त ट्रान्सपाेर्ट सिल गरि थप अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक मल्लले वताए ।

Share your love