आज हरितालिका तिज मनाईदै

आज हरितालिका तीज मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।

हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीया तिथीका दिन हरितालिका तीजको व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

आज देशभरका शिवमन्दिरमा भक्तजनको घुइँचो लागेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण विगत दुई वर्षमा सामूहिक भेला र पशुपतिलगायतका मन्दिरहरु बन्द गरिएको थियो ।

दुई वर्षपछि जमघट भएको र मठ मन्दिर पनि खुलेकाले यसपालि चाडपर्वको रौनक छ । दुई वर्षपछि पशुपतिलगायतका शिवालयहरु खुला गरिएपछि बिहानैदेखि दर्शनार्थीहरुको भिड लागेको छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको धार्मिक विश्वास छ । आज धेरैले निराहार व्रत बस्ने  गरेका छन् । तर, डाक्टरले आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्रै व्रत बस्न सुझाव दिएका छन् । पोषणविद् डाक्टर कल्पना तिवारीका अनुसार शरीरले थेग्ने भएमात्रै निराहार व्रत बस्नुपर्छ ।

नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र फलफूलका जुस खान उहाँको सुझाव छ । निराहार व्रत बस्दा शरीरमा पानीको कमी भइ बेहाेस समेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टर तिवारीको सुझाव छ । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिन्छ ।

स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ ।  तीजका अवसरमा आज महिलालाई सरकारले  सार्वजनिक बिदा दिएको छ ।

Share your love