आजै समानुपातिक सूची सार्वजनिक गर्ने तयारीमा आयोग

निर्वाचन आयोग प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारीमा जुटेको छ। निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार सार्वजनिक गर्ने लक्ष्यका साथ तयारी गरिरहेको छ।

आयोगले राजनीतिक दलहरूले बुझाएको प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सदस्यको सूची सच्याउने समय सोमबार दिउँसो चार बजेसम्म तोकेको छ। दलहरूले बुझाएको समानुपातिक सूचीका सम्बन्धमा अध्ययन भइरहेको र सच्याउन समय दिइएको प्रवक्ता वाग्लेले बताउनुभयो। उहाँले प्रदेश सभा सदस्यतर्फ समावेशी सूचीमा क्षेत्रगत समस्या देखिएको बताउनुभयो। उहाँले प्रदेश सभामा रहेको क्षेत्रगत (क्लस्टर)को त्रुटि सुधारका लागि सम्बन्धित राजनीतिक दललाई पत्र पठाएर सोमबार अपरान्ह ४ बजेसम्ममा सच्याउन भनिएको बताउनुभयो।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएपछि समानुपातिक सदस्यमा प्रतिनिधि सुनिश्चित गरेका छन्। प्रदेश सभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, जनमत, राप्रपासँगै नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी र राष्ट्रिय जनमोर्चाले समानुपातिक सदस्यमा प्रतिनिधित्व सुनिश्चित गरेका छन्।

 

Share your love