आईपीएल क्रिकेट : गुजरातले काेलकातालाई र हैदराबादले दिल्लीलाई हरायाे

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गएराति गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद विजयी भएका छन् । पहिलो खेलमा गुजरात टाइटन्सले काेलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ । काेलकाताले दिएको १ सय ८० रनको लक्ष्य गुजरातले १३ बल अघि नै जम्मा ३ विकेट गुमाएर भेट्टायो ।

गुजरातको लागि विजय शंकरले ५१, शुभमन गिलले ४९ र डेविड मिलरले ३२ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको काेलकाताका रहमानुल्लाह गुरबाजले ८१ रन बनाएका थिए ।  गुजरात ८ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ भने ९ खेलमा ६ अङ्क जोडेको काेलकाता सातौँ स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ९ रनले हराएको छ । हैदराबादले दिएको  १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले ६ विकेट गुमाएर १ सय ८८ रन मात्रै बनायो । उसका लागि मिचेल मार्सले ६३ र फिल साल्टले ५९ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदराबादका अभिषेक शर्माले ६७ र हेनरिक क्लासेनले ५९ रन बनाए । जितपछि हैदराबाद आठौँ स्थानमा छ भने दिल्ली पुछारमा रहेको छ ।

Share your love